जुम्ला। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्वाचित भएका छन्।
प्रतिष्ठानको नवौँ महाधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष थिए। त्यस्तै, महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिएका छन्।
बिहीबार मधेस प्रदेशको बर्दिबास–३, गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गरेको महाधिवेशनमा उद्घाटनसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो।
प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्य गरी ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। सातै प्रदेश, ७० जिल्ला तथा विदेशस्थित शाखासहित १०० वटा समितिबाट करिब एक हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्।
सर्वसम्मत निर्वाचित पदाधिकारी तथा विद्युतीय मतदानबाट चयन भएका अन्य पदको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्व चयनसँगै महाधिवेशन शनिबार सम्पन्न हुने जनाइएको छ।




