जुम्लामा बढ्दो बालबिवाहः८ सय ६० किशोरी उम्मेर नपुग्दै आमा

कर्णालीपोष्ट संबाददाता ।

                                  फाईल फोटोः उम्मेर नपुग्दै विबाह गरेर बच्जा जन्माएकी जुम्लाकी एक किशोरी ।

जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार गत आव २०७७÷७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरु गर्भवती भएका छन् । जुम्लामा हाल सम्म बालबिवाहको एकिन तथ्य नभएपनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीहरुको संख्या हेर्दा बालबिवाहको अबस्था अझै भयाभव रहेको देखिन्छ ।

शिक्षा,चेतनाको अभाव तथा गरिबीका कारण दुरदराजमा अझै बालबिवाहको समस्या विद्यमान रहेको छ । जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अबसरबाट बन्चित हुनु पर्नेमा बाध्यता कायमै रहेको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात आमा बन्नेको संख्या कुल ८ सय ६० जना रहेकोमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् ।

भने, पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९० ,सिँजामा ६८, गुठिचौरमा ९५ जना,तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै गर्भवती अर्थात आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्मेका छन् । भने,२० वर्ष माथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने,गर्भपर्तन गराउने,कम तौलका बच्चा जन्मीने,प्रजनन स्वास्थ्यमा असर देखिने लगायतका सबैको मुख्य कारण भनेकै बालबिवाह रहेको प्रमुख सापकोटाले जानकारी दिनुभयो । बालबिवाह न्युनिकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले वर्षेनिक करोडौ खर्च गरेपनि त्यसको प्रभावकारीता देखिएको छैन् ।

पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले भन्नुभयो,“संघियतापछि किशोरावस्थामै आमा भन्ने संख्या अत्यधिक हुनु दुखद पक्ष हो । गैसस तथा सरकारी निकायका बालबिवाह उन्मुलनका कार्यक्रम औपचारिकतामै सिमित भएको पृष्टी भयो । यसले पार्ने शारिरिक मानसिक,आर्थिक,सामाजिक,पारिवारिक समस्या समधानका लागि सबै निकायको ध्यान केन्द्रित हुनुपर्छ ।”

यसका साथै जुम्लामा गत आवमा ८१ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । भने, १७ सय ५२ जना बालबालिकाले पुर्ण खोप लगाएका छन् । जसमा ९९ प्रतिशत बालबालिकाले विसिजी खोप लगाइसकेको स्वास्थ्य प्रमुख सापकोटाको भनाई छ । विगतको तुलनामा जुम्लाको स्वास्थ्य क्षेत्र सुधारउन्मुख हुदै गएको प्रमुख सापकोटाको दाबी छ । यसका साथै जनस्वास्थ्य सेवा कार्यालय सोमबार जिल्ला स्थित पत्रकारहरु संग कार्यालयले गत आवमा गरेको विभिन्न गतीविधिका बारेमा अन्तरक्रिया समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस