
कर्णाली पोष्ट दैनिक ।
नेपाल निजामती कर्मचारी यूनियनको १९ औँ स्थापना दिवशका अबसरमा जुम्लामा विरामीलाई फलफूल वितरण गरिएको छ । १९ औँ कर्मचारी यूनियन दिवसका अबसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारथ विरामीलाई फलफूल वितरण गरिएको निजामती कर्मचारी यूनियनका केन्द्रिय सदस्य चन्द्र बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार स्थापना दिवशका अबसरमा विरामीलाई फलफुल दिएर स्वास्थ्य लाभको कामना गरिएको छ । प्रतिष्ठानमा उपचार गराइरहेका करिब एक सय जना विरामीलाई केरा,जुस वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास तथा सिचाई मन्त्री दिनबन्दु श्रेष्ठ,पुर्व सांसद ललितजंग शाही,जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा लगायत संगठनका कर्मचारीहरुको सहभागितामा विरामीलाई फलफुल वितरण गरिएको हो ।
उर्जा मन्त्री दिनबन्दु श्रेष्ठले आफ्नो स्थापना दिवसका अबसरमा कर्मचारी यूनियनले विरामीलाई फलफूल बाडेर पुण्यको काम गरेको बताउनु भयो । कर्मचारी संगठनहरुले आफ्ना हक हितका लागि वकालत गर्ने संगठनको जिम्मेवारी भएपनि सामाजिक सेवामा पनि लाग्नु पर्ने उहाँको भनाई छ ।
निजामती कर्मचारी यूनियनले समग्र कर्मचारीहरुको पेशागत सुरक्षाका तथा हितका लागि सधै सरकार समक्ष वकालत तथा पैरबी गरिरहेको केन्द्रिय सदस्य खड्काले बताउनु भयो । उहाँले भन्नुभयो,“देशमा धेरै सरकार आए । तर कर्मचारीका हितका लागि ठोस नीति बन्न सकेका छैनन् । विभिन्न कर्मचारी संकगठनले सशक्त आवाज नउठाउँदा समस्या भएको छ । अब कर्मचारीको हितका लागि निजामती कर्मचारी युनियनले सडक देखि सदन सम्म सशक्त कदम चाल्ने छ ।”



