जुम्ला । नेकपा एकीकृत समाजवादीले तत्काल पार्टी संगठनको काम अघि बढाउन प्रदेश इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो ।

नेकपा एसले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् । पूराना नेता बस्नेत दुई पटक सांसद भइसकेका छन् । त्यस्तै प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह तोकिएका छन् । उनी एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार भई पराजित भएका थिए ।
वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने तोकिएका छन् । एकपटक राष्ट्रियसभा सदस्य भएका न्यौपाने पनि पूराना नेता हुन् । उनी नेकपा एसका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेका भाइ हुन् । गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन् । वामदेव गौतम निकट श्रेष्ठ नवौं महाधिवेशनमा केपी ओली प्यानलबाट सचिव उम्मेदवार थिए ।
त्यस्तै नेकपा एसले उपत्यका प्रदेशको इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इन्चार्जको जिम्मा विजय गुरुङलाई दिएको छ । प्याकुरेल निजामति कर्मचारीको नेतृत्व गरेर आएका नेता हुन् भने गुरुङ साबिक एमाले र नेकपामा सम्पर्क समन्वय कमिटीको सहइन्चार्ज थिए ।



