जुम्ला । मुलुकको आर्थिक समृद्धीका लागि उत्पादन बृद्धि र निर्यात प्रर्बद्धनको विकल्प छैन् । तर सरकारी नीतिकै बाधा अड्चनले नेपालको निर्यात प्रर्बद्धन निकै कमजोर देखिन्छ । विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्यता लिएको झण्डै १८ वर्ष पुरा भइसक्दा पनि नेपालको अन्तराष्ट्यि व्यापारमा अपेक्षित उपलब्धी हुन सकेको छैन् ।
उत्पादन र उत्पादकत्व बृद्धि नहुनु,निर्यात प्रर्बद्धनको ठोस नीति नबन्नु,उद्यमशीलताको विकास नहुनु,यूवा पलायन बढ्नु,सहुलियत कर्जा नपाउनु,आन्तरिक बाह्य लगानी नजुट्नु लगायतका कारणले नेपालमा आयात प्रतिस्थापन चुनौतीपुर्ण बन्दै गएको छ ।
मुलुकको आर्थिक समृद्धीका लागि निर्यात प्रर्बद्धन, माग अनुसारको उत्पादन बृद्धिका लागि तीनै तहका सरकारको ठोस नीति बनाउनु पर्नेमा जुम्लाका उद्योगी व्यवसायीले जोड दिएका छन् ।
जुम्लामा सोमबार आयोजित विश्व व्यापारको स्थानीकीकरण तथा निर्यात प्रर्बद्धन सम्बन्धी अन्तरक्रियामा सहभागी जुम्लाका अगुवा किसान,उद्योगी,व्यवसायीले निर्यात बढाउने लक्ष्य राख्नु पहिले उत्पादन बढाउन तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।
जुम्लाको स्याउ,सिमि,ओखर,मार्सी चामल लगायतका बालीको विश्व बजारमा माग भएपनि उत्पादन बृद्धि तथा निर्यातको सहज वाताबरण नहुँदा सम्भवाना भएरपनि जुम्लाको आर्थिक समृद्धी हुन नसकेको अगुवा किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो ।
कृषि मैत्री नीति र लगानीको अभावले कर्णालीको ८२ हजार हेक्टर जमिन बाँझो छ । उहाँले भन्नुभयो,“संघियतापछि पनि व्यापार व्यवसाय,उद्यमशीलता गर्ने अनूकुल वाताबरण छैन् । सहुलियत ऋण देखि अनुदानमा विचौलियाकै हालीमुहाली छ । उर्वभर भुमि भएर पनि उत्पादन बृद्धि हुन सकेको छैन् । उत्पादित बस्तुको बजारीकरण र निर्यात प्रर्बद्धनमा उत्तिकै समस्या छ । मुलुकको आर्थिक समृद्धीका लागि उत्पादन बृद्धिमा लगानी र निर्यात प्रर्बद्धनमैत्री नीति निर्माणमा जोड दिनुपर्छ ।”
क्षेत्रिय होटल संघका अध्यक्ष दिल बहादुर महतले विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न नसक्नु सरकारकै कमजोरी रहेको बताउनुभयो । माग बढ्दै गएपनि उत्पादन घट्दै गएको जुम्ली स्याउ,सिमि,ओखर मार्सी चालमको उत्पादन बृद्धिमा सरकारको लगानी आबश्यक रहेको उहाँको भनाई छ ।
कृषि,उद्यमशीलता,व्यापार व्यवसायमा सरकारी लगानी न्युन र उत्पादन भएको बस्तुको निर्यात प्रक्रिया सजह नहुँदा मुलुकको व्यापार घाटा बढ्दै गएको उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्षको भनाई छ ।
उत्पादनमुखी नीति र बजेट आबश्यक
उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सह–सचिव गोविन्द कार्कीले निर्यात प्रर्बद्धनका लागि तीनै तहका सरकारले उत्पादनमुखी नीति र बजेट निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । डब्लुटिओको सदस्य भएको १८ वर्ष सम्म पनि नेपालको निर्यात तथा अन्तराष्ट्यि बजारीकरण सन्तोषजन नभएकोले उत्पादनबृद्धिमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
जुम्लामा उत्पादन हुने स्याउ,सिमि,ओखर,मार्सी चामलको उत्पादकत्व बढाउन लगानी पनि बढाउनु आबश्यक रहेकोले बजेटमा कृषि,उद्योग,व्यापार व्यवसायलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“नेपाली उत्पादनले अहिलनै अन्तराष्ट्यि बजारको माग धान्ने स्थिती छैन् । उत्पादनबृद्धिमा साँच्चै सरकारी लगानी न्युन छ ।
भने,निर्यातको झन्झटिलो नीति संशोधनको बहस भईरहेको छ । जुम्लाका उद्योगी व्यवसायीका सुझाब कार्यान्वयनमा पहल गर्छु ।”
अन्तराष्ट्यि निर्यात मात्र नभई अन्तर प्रदेश र अन्तर जिल्लाको निर्यात प्रर्बद्धनको नीति निर्माणमा पनि जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीको भनाई छ । कर्णालीको जडिबुटी प्रशोधन तथा स्याउ,सिमि,ओखर मार्सीको उत्पादन बढाई निर्यातमा जोड दिन कर्णाली सरकारले विशेष लगानी गर्नुपर्नेमा उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले उद्योगी व्यवसायीका समस्यालाई समधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उत्पादन र बजारीकरणको समस्या समधानमा नीजि क्षेत्र तथा सरकार बीच समन्वय हुन जरुरी रहेको उहाँको भनाई छ । कृषि विकास कार्यालयका प्रमुख गणेश रोकाया,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोले अनुदानमुखी किसान र उद्योगीलाई निरुत्साहित नगरी उत्पादन बृद्धि नहुने भएकोले अनुगमन निरिक्षण तथा नियमनमा कडाइ गर्न सुझाब दिएका छन् ।



