कर्णालीमा सरकार गठनको प्रक्रिया सुरु, को बन्ला मुख्यमन्त्री ?

काठमाडाैं, निर्वाचन आयोगले निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएसँगै कर्णाली प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुख परियारले २२ पुसभित्रै प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने छ ।

अबको एक महिनाभित्र प्रदेश सरकार पनि गठन भइसक्नेछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभाको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउनेछन् ।

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल सभामुखको भूमिकामा ज्येष्ठ सदस्य रहनेछन् । ज्येष्ठ सदस्यले नै अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् । त्यतिन्जेलसम्म दलहरूले संसदीय दलको नेता चयन गरिसक्नुपर्ने हुन्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख रउपसभामुखको निर्वाचन गराइसक्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म कम्तीमा ५ वटा बैठक सञ्चालन भइसक्छन् ।

प्रदेशसभाका नवनिर्वाचित ४० सदस्यमध्ये ज्येष्ठ सदस्य एमालेका विनोदकुमार शाह रहेका छन भने सबैभन्दा कान्छो सदस्यको रूपमा रुकुम पश्चिमकी तुल्सा मल्ल रहेकी छिन् । ज्येष्ठ सदस्यका रूपमा शाहले नै सांसदहरूलाई शपथ खुवाउने छन् । शाह दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित भएका हुन् । उनी ६६ वर्षका भए । सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेलसम्म ज्येष्ठ सदस्यका रूपमा उनैले सभा सञ्चालन गर्नेछ । शाहलाई भने प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउने छन् ।

यस्तै कर्णालीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा केन्द्रको हातमा रहेको नेताहरूको भनाइ छ । प्रदेशमा सत्तारुढ गठबन्धनको बहुमत छ । गठबन्धनभित्रका दलहरू काँग्रेस, माओवादी र समाजवादीको गरी २८ सिट छ भने एमालेसँग १० सिट छ । गठबन्धनबाट कर्णालीमा काँग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि दाबी गरिरहेका छन् ।

बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही केन्द्रीय नेताहरूकै सल्लाह अनुसार आफू मुख्यमन्त्रीमा ‘कन्टिन्यू’ हुने उद्देश्यसहित प्रदेशमा आएको बताउँदै आएका छन्  । अन्य प्रदेशको तुलनामा माओवादीको जना धार कर्णालीमा बलियो भएकाले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको दाबी छ । त्यसका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादीका तर्फबाट सुझाव पत्रसमेत पठाइएको छ ।

काे बन्ला मुख्यमन्त्री ?

मुख्यमन्त्रीमा आलोपालो गर्न नेताहरु तयार देखिएका छन् । तर पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्नुपर्ने कांग्रेस र माओवादी दुबैको दाबी छ ।

कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाहलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । शाही मुख्यमन्त्री बन्ने भन्दै प्रदेश सभामै चुनाव लडेका थिए । ‘मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा लड्नु भएको हो,’ उनी निकट एक नेताले भने ।

जाजरकोट प्रदेश सभा (२) बाट चुनाव जितेका कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । ‘यो पटक मेरो भाग्य चम्किन थालेको छ । संयोग ठुलै जुट्ला जस्तो छ’ जाजरकोट खलंगामा आयोजित विजयी उत्सवमा बोल्दै शाहले भने, ‘आर्शिवाद राम्रो मिलेको छ । प्रदेशको नेतृत्व गर्नुपर्ने हुनसक्छ ।’

उनी निकट नेताहरुले पनि जीवनबहादुर शाहीको पालो सकिएकाले अबको मुख्यमन्त्री शाह हुने बताउँछन् ।

माओवादी केन्द्रमा मुख्यमन्त्रीका रुपमा सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका राजकुमार शर्माको नाम चर्चामा छ । दुईमध्ये वरीयताका आधारमा शर्माको सम्भावना बढी रहेको नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाए राजकुमार कमरेड नै हो अबको मुख्यमन्त्री । उहाँको विकल्पमा अरुलाई सोच्न सकिँदैन ।’

अहिलेकै अवस्थामा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना छैन । तर सत्ता गठबन्धनमा तलमाथि भएको अवस्थामा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहन्छ । एमालेमा यामलाल कँडेल र विनोदकुमार शाहको नाम चर्चामा छ । तर एमालेबाट यामलाल नै संसदीय दलको नेता र मुख्यमन्त्रीको दावेदार भएको एमालेका नेताहरु बताउँछन् ।  न्यूज काराेबार

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस