जुम्ला । जिल्ला उपभोक्ता सहकारी संघ जुम्लाको नाममा माओवादीले उपभोग गरिरहेको जिल्ला खेलकुद विकास समितिको जग्गा खाली गर्न निर्देशन दिइएको छ । जुम्ला बजार स्थित हनुमान मन्दिरनेरको जग्गामा सहकारी मार्फत २०६६ सालदेखि माओवालीले विभिन्न खाले संरचना निर्माण गरि चलाउँदै आएको थियो। हाल आएर त्यहाँ निर्मित संरचना र जग्गा खाली गर्न निर्देशन दिएको हो ।
उक्त जग्गा ०६६ असोज ०८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय बैठकबाट जिल्ला उपभोक्ता सहकारी संघ निमार्ण गर्न दिइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
’जिल्ला उपभोक्ता सहकारी संघ संयोजक र समितिको तर्फबाट सुपथ मूल्यका सहकारी पसल निमार्ण गर्ने सम्झौता भएको देखिन्छ,’ जिल्ला खेलकुद विकास समितिका प्रमुख बरम बहादुर महतले भने, ’तर पछि सम्झौता विपरीतका काम भए। विभिन्न संरचनाहरु खडा गरिए ।
उनका अनुसार उक्त जग्गामा सुपथ मूल्यका पसल संचालन गर्नुपर्नेमा ढुङ्गा, काठ र जस्ताले छापिएका टहराहरुमा पार्टी कार्यालय, आवास गृह लगायतमा संरचना खडा भएका छन्। जुन सम्झौता विपरीत छन् ।
’तत्कालिन गाविसहरुबाट प्राप्त अनुदान रकमले सुपथ मुल्यका सहकारी पसलहरु निमार्ण गरिनुपर्नेमा गरिएका छैनन्,’ उनले थपे, ’यी क्रियाकलापहरुका बारेमा पटक पटक बैठक, पत्राचार, फोन संम्पर्क गरि ०७४ बाट नविकरण गर्न र खाली गर्न पत्राचार हुँदा हुँदै पनि अटेरी भइरहेको छ ।
०८० भदौ २४ गते जिल्ला खेलकुद समितिले जिल्ला उपभोक्ता सहकारी संघको नाममा चिठी काटेर सम्झौतामा उल्लेख भए बमोजिम दुई दुई वर्षमा नविरकण गर्नु पर्नेमा नगरिएको, मासिक भाडा रकम नतिरिएको देखिनुका साथै संरचना जिर्ण र भत्किने सम्भावना भएको देखिएकाले सम्झौता रद्द गरिएको जानकारी दिएको छ ।

पत्रमा भनिएको छ, ’राष्ट्रिय खेलकुद परिषद्को नीति नियम २०७४ छैटौं संशोधन २०७६ अनुसार सम्झौता रद्द गरिनुका साथै हाल सम्मको बाँकी सम्झौता बमोजिमको रकम दिन हुनुका साथै ०८० भाद्र २४ गते बाट ३० गते सम्म सम्पूर्ण निमार्ण भएका टहराहरु खाली गर्न, गराउन हुन समेत जानकारी गरिन्छ ।
जिल्लामा रहेका राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले समन्वय तथा सहयोग गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख बरम बहादुर महतले जानकारी दिए । यता जिल्ला उपभोक्ता सहकारी संसका अध्यक्ष राज कुमार शाहीले जग्गा खाली गर्ने विषयमा जिल्ला खेलकुद विकास समितिसँग छलफल चलिरहेको बताए ।
’हामीले दुई वर्षदेखिको भाडा तिर्न बाँकी । फेरि हाम्रो पार्टी कार्यालय पनि त्यहीँ भएको हुनाले पार्टीको ओैपचारिक बैठक गरेर के कसो गर्ने भनेर असोज दुई गते छलफल हुँदैछ,’ उनले भने, ’हामीले बनाएको संरचनामा ह्रासकट्टी कटाएर लिइदिन जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेका छौं।’



