सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधान देश विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।
बुधबार वीरेन्द्रनगरमा आयोजित संविधान दिवस मूल समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले नेपालको संविधानले अघि बढ्न चाहनेलाई प्रोत्साहन गरेको भन्नुहुँदै सो कुरा बताउनुभयो।
शर्माले भन्नुभयो, “संविधान धर्मग्रन्थ मात्रै होइन, देश विकासको मेरुदण्ड हो, प्रगतिको आधार हो।”
उहाँले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति नेपालमा आवश्यक रहेको महसुस भएको बताउनुभयो। उहाँले निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको भन्नुहुँदै यसलाई परिवर्तन गर्न आवश्यक भएको औंल्याउनुभयो।
उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन हुँदै जाँदा केही अभावको अनुभूति भएको छ। निर्वाचन प्रणाली महंगो हुनु, संवैधानिक अङ्गहरु असन्तुलन, प्रतिनिधिसभा विघटन लगायतका कारण हुन। प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको अनुभूति भएको छ।”
मुख्यमन्त्री शर्माले लाखौं जनताको त्याग, सर्मपण, आन्दोलन र बलिदानका आधारमा प्राप्त संविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौं मौलिक हक अधिकारलाई थप सुदृढीकरणको लागि एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। नयाँ खालको संघर्षको जरुरी रहेको भन्दै राष्ट्रिय एकता, स्वाभिमान र आत्मनिर्भरताका साथ एकीकृत सङ्कल्प गर्न आवश्यक रहेको बताउनुभएको हो।
स्रोत ः गोरखापत्र अनलाइन



