वैदेशिक रोजगार ठगी : वीस एचआर सोलुसनका सञ्चालकहरुविरुद्ध मुद्दा, म्यानपावर खारेज

काठमाडौं । वैेदेशिक राेजगार विभागले वीस एचआर सोलुसन प्रा.लि.का सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ बिगाे कायम गरी वैदेशिक रोजगार न्यायाधिकरणमा ठगी  मुद्दा दायर गरेको छ ।

विभागले कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा सरिता भुजेलसहित ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको दाबी गरेको छ । विभागले रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेपछि उजुरीपछि छानबिन शुरू गरेको थियो ।

उक्त म्यानपावर कम्पनीमाथि जापान, पोल्याण्ड, कतार, क्रोएसिया र अमेरिकाजस्ता मुलुकमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर उक्त रकम लिएको पनि आराेप छ ।

वैदेशिक राेजगार ऐनमा रकम लिएर वैदेशिक राेजगारमा नपठाए पीडितहरूलाई लिएको रकमको ५० प्रतिशत रकम हर्जनासहित तिर्नुपर्ने व्यवस्था छ । विभागले उक्त म्यानपावर खारेजसमेत गरिदिएको सूचना अधिकारी  कविराज उप्रेतीले बताए ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस