आन्दोलनमा रहेका राहत शिक्षकहरू आज सडकमा सुत्ने

 काठमाडाैं । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्।

राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह-अध्यक्ष नबिनसिंह धामीले आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए।

‘दिउँसो १२ बजे हामी सडकमा आधा घण्टा लम्पसार लाश बनेर पल्टिन्छौँ। सांकेतिक रूपमा हामीलाई मार्यो भनेर हामी सडकमा सुत्छौँ। माइतीघर बानेश्वर सडक खण्डमा हामी पल्टिन्छौँ।’ उनले भने।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस