पत्रकार परियारद्दारा जन्मदिनको अबसरमा विपन्न निरुलाई शैक्षिक सामाग्री सहयोग

जुम्ला । सक्रिय पत्रकार तथा पत्रकार महासंघ जुम्लाका सह-सचिव सागर परियारले आफ्नो जन्मदिनको अवसरमा तातोपानी ६ कि निरु कामीलाई शैक्षिक सामग्री वितरण गरेका छन । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी निरु दुर्गा मावि लाम्रामा ६ कक्षामा अध्ययनरत छिन । उनका बुबा माओवादी युद्धकालमा पूर्व लडाकु थिए ।

१० वर्ष अगाडि धन कमाउन भनेर इन्डिया गएका उनी उतै विते । त्यस यता निरुकी आमा शोभा कामीले तीन छोरीको लालनपालन गर्दै आएकी छिन । १२ वर्षकी निरु घरकी कान्छि छोरी हुन । अध्ययनमा अब्बल उनको पठनपाठनमा सहजताका लागि पत्रकार परियारले शैक्षिक सामग्री सहयोग गरेका हुन । जन्मदिनको अवसरमा अन्यत्र फाल्तु खर्च गर्नु भन्दा थोरै सहयोग गरौं भन्ने साथीहरुबीच सर सल्लाह भएपछि शैक्षिक सामग्री वितरण गर्ने योजना बनेको पत्रकार सागर परियारले बताए ।

“निरुको पठनपाठन कुनै पनि हालतका अवरोध हुन दिने छैनौं,”उनले भने, “मेरो जन्मदिनको अवसमा उनीसँग नाता जोडिएको छ। आगामी दिनको उनको पठनपाठनमा कुनै अवरोध नआउने गरि लाग्नेछौं ।” जन्मदिनको अवसरमा विपन्न खोजेर शैक्षिक सामग्री वितरण गर्नु सिर्जनाशील कार्य भएको तातोपानी ९६ का वडा अध्यक्ष विशाल खड्काले बताए । “सागर जीले तडकभडक छोडेर विपन्नलाई सहयोग गरि सह्रानीय काम थाल्नुभएको छ,”उनले भने,“यो काम उहाँले मात्रै नभई आगामी दिनमा हामी सबैले गर्नुपर्छ ।”

शैक्षिक सामग्री वितरण कार्यक्रमले निरुको आर्थिक अवस्था पहिचान भएको हुँदा उनको पढाइ र घरको रेखदेखमा वडाबाट सकेको सहयोग हुने उनको भनाइ छ । निरु जस्ता विपन्नलाई सहयोग गर्नु आर्थिक स्थिति राम्रो भएका नागरिक र नजिकको सरकारको सामाजिक उत्तरदायित्व भएको पत्रकार शुभाकर विश्वकर्माले बताए । सागर जीले आफ्नो जन्मदिनको तडकभडकलाई स्थगन गरि निरुलाई सहयोग गर्नु रचनात्मक कदम हो, उनले भने ।

कापीकलम जुटाउन धौ भइरहेको अवस्थामा पत्रकारले सहयोग गर्दा साह्रै गुन लागेको निरुकी आमा शोभाले बताइन । उनले भनिन, “दुखी गरिबको पनि कोही हुन्छन भनेको सुनेकी थिएँ आज देखेँ।”

पत्रकार परियारले निरुलाई तीन दर्जन कपी, दुई दर्जन कलम, एउटा ज्यामिति बक्स, झोला लगायत शैक्षिक सामग्री उपलब्ध गराएका छन । पत्रकार सागर परियार कर्णाली मिसनका प्रकाशक समेत रहेका छन ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस