इजरायलमा हमासको रकेट आक्रमण :  ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री नेतान्याहु भन्छन् :  हामी युद्धमा छौँ, हाम्रा दुश्मनले उनीहरूले अहिलेसम्म थाहै नपाएको मूल्य चुकाउन पर्नेछ । इजरायली अधिकारीहरूका अनुसार अहिलेसम्म आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् ।

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । 

हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गरिन् । त्यस्तै उनले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन् ।

‘नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेका छौँ । आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको छ,’ उनले भनिन् ।

विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उनले बताइन् । ‘१७ जना कृषि फार्मको आवासभित्र छन् । उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ,’ राजदूत रिजालले भनिन् । आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले बताइन् ।

आक्रमणपछि गस्ती गर्दै इजरायली सेना । तस्बिर : एपी/रासस

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस