हुम्ला,सीमकोट — सदरमुकाम सिमकोटबाट बडगाउँ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालय नजिकै बा २१ च ७३५३ को जिप सडकबाट करिब ६० मिटर तल खस्दा सिमकोट वडा नम्बर २ र ३ का वडा अध्यक्षसहित जीपमा सवार ९ जना स्थानीय घाइते भएको हुम्लाका प्रहरी प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
घटनामा ३ जना सख्त भएका छन् । सिमकोटका सुस्वा संयोजक ध्रुव शाही, वडा नम्बर २ का देवजंग बोहोरा र ३ का वडा अध्यक्ष पामा लामा घाइते भएका हुन् । उनीहरुलाई सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । जिपमा ड्राभइभरसहित १० जना सवार थिए ।
बडगाउँमा हुने ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा)कार्यक्रममा सहभागी हुन वडा अध्यक्षसहितका प्रतिनिधिहरू जीपमा सवार रहेको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।



