जुम्ला । जुम्लाकाे चन्दननाथ माध्यमिक विद्यालयले फाइनल खेलेका छात्रा विद्यार्थीलाई स्कुलकाे निर्देशन नमानेकाे भन्दै निस्कासन गरेकाे छ। जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निकालेकाे हाे।
अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धकाे सेमी फाइनल खेलकाे थियाे। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरु मैदान छाेडेर हिडेका थिए।
चन्दननाथका छात्रहरुले सेमिफाइनलमा गरेकाे गाेललाई रेफ्रीले अपसाइट भनेर गाेल नदिएर पक्षपतपूर्ण निर्णय गरेकाे भन्दै सहभागिता नजनाउने निर्णय गरिएकाे प्रधानाध्यापक टंक महतले बताए।

‘कुनै मान्यता प्राप्त नगरेकाे रेफ्रिले सिधासिधा भएकाे गाेललाई नमानेपछि हामीले छात्र, छात्रा दुबैकाे सहभागिता नजनाउने निर्णय गरेका हाैं । उनले भने, “याे विषयमा न एन्फाले हामीसँग कुनै छलफल गरेकाे छ । न हाम्राे गाेललाई मान्यता दिएकाे छ। यस्ताे अवस्थामा हामीले निर्णय गरेरै विद्यार्थीलाई सहभागी नहुन भनेका हाै । भने छात्राकाे फाईनल खेलमा आफ्ना खेलाडी समेत नपठाउने भनेका थियाै । तर उक्त निर्णयकाे विद्राेह गरेर खेल्न भएपछि ती खेलाडी छात्रालाई निस्कासित गरेका हाै ।”
चन्दननाथका माविका छात्रा खेलाडीले त्यस अघि नै फाइनलमा आफ्नाे स्थान सुरक्षित बनाइसकेका थिए। फाइनल पुगेका छात्रा खेलाडीहरुले आपसी सल्लाह गरेर स्कुलकाे निर्देशन नमानी खेलमा सहभागिता जनाए ।
छात्राहरुकाे खेलमा कुनै विवाद नभएकाे र फाइनलमा पुगिसकेका हुनाले साेझै प्रतिस्पर्धी स्कुललाई उपाधी दिनु भन्दा खेलाैं भनेर सल्साह गरिएकाे एक छात्रा खेलाडीले बताइन्।

‘हामी सबै साथीहर मिलेर नै खेलमा सहभागी हुने भनेका हाैं। सामुहिक निर्णय भएपछि स्कुलले नजाउ भन्दा पनि हामी गएका हाैं । नाम नबताउने सर्तमा उनले भनिन्, “हामीले एक एक गाेल गेरर बराबरी खेल्याैं। पेनाल्टीमा हार्याैं। हारकाे पीडा त थियाे नै। आज स्कलले निस्कासित गेरर थप पीडा दिएकाे छ । हाम्राे अधिकार पनि कुण्ठित भयाे ।”
यता विद्यालयका प्रधानाध्यापक टंक बहादुर महतले विद्यार्थीले स्कुलकाे निर्देशन नमानेर खेल्न गएपछि एक शैक्षिकसत्रका लागि विद्यालयबाट निस्कासन गरिएकाे बताए ।
विद्यार्थीले हाम्राे भनेकाे मानेनन्। विधालयकाे निर्णयकाे उलंघन गरे । एन्फाएले अन्याय गरेकाे छ भन्ने थाहा पाउँदा पाउँदै पनि खेल्न गएपछि हामीले छात्राहरुलाई निस्कासन गर्याै । उनले भने,”याे सबै परिस्थिति एन्फाकाे एकलौटी निर्णयका कारण आएकाे हाे। हामीले विद्यार्थी निस्कासन गर्नुपर्ने अवस्था ल्याउनमा एन्फाको अनिर्णय प्रमुख कारण हाे ।”
चन्दननाथ माध्यमिक विद्यालयले एन्फाले अन्याय गरेकाे भन्दै निर्णय नियम बिपरितको निर्यण सच्याइ दिन भनेर एन्फालाई निवेदन दिएकाे छ।
निवेदनमा भनिएकाे छ, ‘क्वाटर फाइलन प्रतियोगितामा खेल संचालक टीमको गलत निर्णय प्रति हाम्रो चित नबुझेकाले चन्दननाथ माविले प्रहार गरेको फ्रि किकबाट सोझै पोष्ट भित्र पसेको गोल बल सम्पूर्ण खेलाडी तथा दर्शकका नाङ्गा आँखाले छर्लङ्गै देखिरहेको गोललाई रेफ्रिले गोल दिइसकेपछि लाइन्स म्यानले अफ- साइड भयो भनि रेप्रिलाई गलत घोषणा गर्न लगाएकोले हामी माथि ठूलो अन्याय परेको महसुस गरी उक्त गलत निर्णय नसच्याएसम्म रेफ्रि र लाइन्सम्यान अखिल नेपाल फुटवल संघको नियम अनुसार आधिकारिक रहे-नरहेको विषयमा छानबिन नहुँदासम्म उक्त खेलमा हाम्रो विद्यालय सहभागी हुन नसक्ने तथा छात्रा तर्फको टिम फाइनलमा प्रवेश गरी सकेको भएता पनि यस्तो अन्यायपूर्ण एवंम गैर नियम परिचालन गरी खेलाइएको खेलमा सहभागी हुन नसक्ने र भविष्यमा अखिल नेपाल फुटबल संघ जुम्लाले खेलाउने खेलमा सहभागी नहुने जनकारी समेत गरिन्छ।”
एन्फामा निवेदन दिदादा दिदै पनि कुनै कारबाही नहुँनु अन्याय भएकाे प्रधानाध्यापक महतले बताए। ‘हामीले हाम्राे निवेदन उपर कारबाही हाेस् भनेका हाैं । ‘हामीले उहाँहरुकाे निर्णय कुरेका थियाै । हाम्राे निवेदन लत्याइयाे। जानकारी दिदादिदै पनि विद्यार्थीलाई खेलाएर हराइयाे । उनले भने ।
चन्दननाथले दिएकाे निवेदनलाई मध्येनजर गरेर जुम्ला जिल्ला फुटबल संघले विज्ञप्ति निकालेर जवाफ दिएकाे छ। संघकाे विज्ञप्तिमा भनिएकाे छ,”यस जुम्ला जिल्ला फुटबल संघ, जुम्ला उचित श्रोत साधन र उपयुक्त पूर्वाधारको अभावमा पनि फुटबल खेल विकासको पक्षमा हर बखत प्रयासरत रहेको कुरा घाम जस्तै छर्लङ्गै रहेको छ। प्रतिकुल परिस्थितिका बावजुत पनि अनुकुल परिस्थिति सृजना गरि यस संघले सकेसम्म खेल प्रतियोगिताहरु विना विवादित, मर्यादित र खेल अनुशासनमा रही संचालन गर्दै आएको व्यहोरा विधितै छ ।”
यस संघले मिति ०८० असाेज १३ गते देखि संचालन गरेको विद्यालय स्तरिय अन्डर -१६ छात्रा तथा छात्र फुटवल प्रतियोगितामा मिति ०८० असाेज १७ गतेका दिन दिनको २:३० बजे देखि श्री भैरव मावि धुपीठुस्का र चन्दननाथ मावि बीच भएको खेलको निर्धारित समयको २ मिनेट बाँकी रहदै चन्दननाथ माविका खेलाडीहरु र कोचले रेफ्रीले दिएको निर्णयलाई मनोमानी, आफू खुसी खेल मैदान छोडी आफै बाहिर गई खेल अनुशासन विपरितको कार्य गरेको र थप बाँकी रहेको समयावधिमा खेल संचालन गर्न रेफ्रीले हुसिल बजाउँदा समेत उक्त विद्यालयका खेलाडीहरु खेल मैदानमा उपस्थित नभएका कारण नियमानुसार नै भैरव मा.वि. धुपीढुस्काको १ गोललाई आधारमानी रेफ्री टोलीले भैरव मावि धुपीढुस्कालाई विजय घोषणा गरेको सबैमा जानकारी गराउँदै खेल अवधिभर रेफ्री टोलीले दिएको निर्णय नै अन्तिम हुने खेल नियमको मान्यता अनुसार चन्दननाथ माविले माग गरेको बमोजिम उक्त खेल अवधिको सम्पूर्ण निर्णयकर्ताको सर्वाधिकार रेफ्रीमा नै रहेन हुनाले निवेदकको निवेनको जिकिर उपर कुनै कारवाही नभई रेफ्री टोलीले गरेको निर्णय अन्तिम भएको व्यहोरा निर्णयानुसार यसै विज्ञप्ती मार्फत सबैमा जानकारी गराइन्छ।’

विद्यार्थीहरु स्कुलकाे जर्सीका आएपछि कुनै पनि हालतमा खेलमा सहभागी गराउनै पर्ने बाध्यता भएकाे जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए।
‘जर्सीमा आएका विद्यार्थीलाई हामीले खेल नखेल भनेर कसरी भन्न सक्छौं ?,’ उनले भने, ‘यही निहुमा विद्यार्थीलाई निस्कासन गर्नु सम्बन्धित विद्यार्थीकाे पढ्न पाउने अधिकार र अभिभावकले विद्यालयमाथि गरेकाे विश्वासमा समेत प्रहार गर्नु हाे ।
विद्यार्थी खेलमा सहभागी भएकाे विषयलाई लिएर निस्कासन गर्नुपर्ने अवस्था आउनु गलत भएकाे भन्दै उक्त निर्णय शिक्षा विभाग र मन्त्रालयमा पठाउने एन्फा अध्यक्ष बुढथापाले बताए। उनले भने, ‘हामी उहाँहरुकाे निर्णय जस्ताकाे तस्तै शिक्षा मन्त्रालय र सम्बन्धित निकायमा पठाइदिन्छाैं।’
यता चन्दननाथ माध्यमिक विद्यालयले एन्फाका कारण विद्यार्थी निकाल्नु परेकाे भन्दै खेलमा सहभागी विद्यार्थीलाई निस्कासन गरिएकाे चिठी दिएकाे छ। तत्काल चेतावनी स्वरुप निस्कासन पत्र दिएपनि एकहप्तापछि छलफल गरि पुर्नविचार गरिने प्रअ टंक बहादुर महतले बताए ।
विद्यार्थीलाई दिइएकाे निस्कासन पत्रमा भनिएकाे छ, ‘प्रस्तुत विषयमा जुम्ला फूटबल संघको आयोजनामा मिति २०८० साल असोज १३ गते देखि संचालित विद्यालय स्तरीय अन्डर -१६ (छात्र / छात्रा) फुटबल प्रतियोगितामा ०८० साल असोज १७ गते संचालित छात्र तर्फको क्वाटर फाइनल खेलमा आयोजक तथा रेफ्रि टोलीले गरेको अन्यायपूर्ण निर्णयका विरुद्ध विद्यालयले पत्राचार गरि न्यायिक छानविन हुन नसके हाम्रो विद्यालयका कुनै पनि टीम सहभागी हुन नसक्ने व्यहोरा जानकारी गराइएको र तपाईंलाई व्यक्तिगत रुपमा समेत मिति २०८० साल असोज २० गते हुने फाइनल खेलमा सहभागी नहुनु भन्ने जानकारी दिँदा त्यसलाई व्यवास्था गर्दै विद्यालयको निर्णय विरुद्ध अटैर भई आँफूखुशी उक्त खेलमा सहभागी भएकाले विद्यालयको शिक्षण सिकाई तथा परीक्षा सम्वन्धि कुनैपनि कार्यमा सहभागी हुन नपाउने गरी यस शैक्षिक सत्रका लागि विद्यालयबाट निस्कासन गरिएको छ।’
विद्यार्थी निस्कासन गरिएकाे विषयमा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले आफ्नाे ध्यानाकर्षण भएकाे बताएका छन्। उनले भने,”म अहिले जिल्ला बाहिर छु। याे विषयमा मेराे ध्यानाकर्षण भएकाे छ। म आउने बित्तिकै सबै कुरा बुझ्नेछु। विद्यार्थीकाे पढ्न पाउने अधिकार बञ्चित हुन दिने छैनाैं ।”
विद्यार्थीले विद्यालय हाताभित्र अमर्यादित गतिविधि गरेकाे खण्डमा निस्कासन गर्न पाउने प्रावधान भएकाे शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए। उनले भने, “कम्तिमा एक पल्ट चेतावनी दिएर मात्रै निस्कासन गर्न मिल्छ। तर विद्यालय हाता भन्दा बाहिर भएकाे खेलकाे विषयलाई लिएर विद्यार्थी निस्कासन गर्ने भन्ने कुरा फरक हाे। याे विषयमा सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्ने हुन्छ।”



