कालीकाेटकाे महावै गाउँपालिकाका सबै घरधुरीको बीमा गरिँदै

कालीकोट । महावै गाउँपालिकाले यसै वर्ष गाउँपालिका भित्रका सबै घरधुरीको बीमा गर्ने भएको छ । गाउँपालिका भित्र रहेकाे १ हजार ६ सय घरधुरीको बीमा गरिने भएकाे गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । बाढी पहिरो, आगलागी तथा अन्य विपद्बाट हुने जोखिम कम गर्न गाउँपालिकाले सबै घरधुरीको बीमा गर्ने कार्यक्रम अघि सारेको अध्यक्ष सिंहले बताउनु भयो ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशी र गाउँपालिका अध्यक्ष सिंहले गाउँपालिकाका सबै घरधुरीको बीमा गर्न सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे हाे । बीमाका लागि घरको मूल्याङ्कनका आधारमा बीमा रकम निर्धारण गरिने भएको छ । वार्षिक रुपमा गाउँपालिकाले बीमा कम्पनीलाई तिर्नुपर्ने न्यूनतम बीमा शुल्क ५ सय ८७ रुपैया ६० पैसा भन्दा बढी बीमा शुल्क आएमा बाँकी बीमा शुल्क सम्बन्धित घरधनीले तिर्ने व्यवस्था गरिएको छ ।

महावै – ३ नकु गाउँमा २०७७ साल साउनमा पहिरोले घर पुरिँदा एकै घरपरिवारका ६ जनाको ज्यान गएको थियो ।  कालीकोटमा सबै घरधुरीको बीमा गर्ने महावै पहिलो गाउँपालिका हो ।

स्रोत ः उज्ज्यालो अनलाइन

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस