जुम्ला । कर्णाली प्रदेश सरकारले भुकम्पबाट प्रभावित जिल्लाका पालिकाहरुलाई राहत रकम पठाएकाे छ । प्रदेश सरकारले गत शुक्रबार जाजकाेटकाे रामीडाडा केन्द्र बिन्दु भएर गएकाे भुकम्पबाट पिडित जाजरकाेट,रुकुम पश्चिम र सल्यानका प्रभावित पालिकाहरुलाई राहत रकम पठाएकाे हाे ।
मंगलबार कर्णाली प्रदेश सरकारकाे मन्त्री परिषदकाे बैठकनुसार भुकम्पबाट प्रभावित तीन जिल्लाका १६ वटा पालिकामा २ कराेड ४५ लाख बजेट पठाईएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धार तथा पुर्नस्थापनकाे प्रयाेजनार्थ करिब साढे दुई कराेड राहत रकम पठाईएकाे हाे ।
जस अन्तर्गत भुकम्पबाट सबैभन्दा बढी क्षति भएकाे जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकालाई २५ लाखका दरले १ कराेड २५ लाख राहत रकम पठाइएको छ ।
त्यस्तै जाजरकोटको कुशे गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरले ६० लाख रकम वित्तिय हस्तान्तरण गरिएकाे हाे ।
भने,जाजरकोटको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई १० लाखका दरले २० लाख बजेट पठाउँदा भुकम्पबाटै क्षति ग्रष्त भएकाे सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरले २५ लाख रकम पठाइएकाे मन्त्रालयद्दारा मंगलबार जारी सूचनामा उल्लेख गरीएकाे छ ।
प्रभावित पालिकाहरुकाे माग र आबश्यकतालाई मध्यनजर गरि तत्काल १६ पालिकालाई पिडितकाे राहत उद्दार तथा पुर्नस्थापनकाे लागि भनेर २ कराेड ४५ लाख बजेट वित्त हस्तान्तरण गरिएकाे कर्णाली आर्थिक मामिला तथा याेजना मन्त्री बेदराज सिंहले बताए ।
उनले भने,”मुख्यमन्त्रीकाे अध्यक्षतामा बसेकाे बैठकले सरकारले तत्कालीन राहत रकम पठाउने निर्णय भएकाे हाे । याे रकम नितान्त पिडितकाे राहत उद्दारमा खर्चिने पहिलाे प्रथामिकता हाे । साेमबार आएकाे दाेस्राे भुकम्पबाट झनै क्षति भएकाेले पिडितलाई तत्काल राहत हाेस भन्ने आशा हाे ।”
पालिकाहरुले पिडितलाई आबश्कयता बुझि उक्त रकम राहत उद्दारमा खर्चिनु पर्नेमा प्रदेश सरकारकाे जाेड छ । राहत रकम १६ वटै पालिकाकाे खातामा पठाईएकाे छ ।
यस्तै रुकुमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा पनि ५ लाखका दरमा रकम पठाइएको छ।



