उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न,आयात प्रतिस्थापन गर्न, बजारको माग पुर्ति गर्न तथा कच्चा पदार्थको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग दर्ता आबश्यक छ ।
तर जुम्लामा उद्योग निर्वाहमुखी, नाफामुखी, व्यावसायीकमैत्री र उत्पादनमुखीभन्दा अनुदानमुखी उद्योग बढी छन् । संघियतापछि अनुदान लिनमात्रै उद्योग दर्ता गर्ने अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले नत उत्पादन वृद्धि भएको छ । नत रोजगारी सृजना भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको गत आव २०७९÷८० को तथ्यांकनुसार जुम्लामा एकै वर्षमा जुम्लामा गत वर्षमा ७ सय ६० उद्योग दर्ता भएका छन् । उद्योगतर्फ ५ सय ८९ र वाणिज्यतर्फ १ सय ७१ गरी कुल ७ सय ६० वटा उद्योग दर्ता भएका थिए । भने, कार्यालय स्थापनादेखि हालसम्म जुम्लामा उद्योग तथा वाणिज्यतर्फ गरी कुल ७ हजार ३ सय ३७ वटा उद्योग दर्ता भएका छन् ।
तर दर्ता उद्योग मध्य अधिकांश उद्योग सञ्चालनमा छैनन् । च्याउ जस्तै दतौ भएका उद्योगले नत उत्पादन गर्न सकेका छन् । नत रोजगारी सृजनामै टेवा पुराएका छन् । श्रृष्टि एण्ड संसार फलफुल उत्पादन तथा प्रशोधन उद्योगकी सञ्चालक नारायणी चौलागाईले भनिन,“अनुदान पचाउन मात्रै जुम्लामा उद्योगी बन्ने प्रबृत्ति बढ्दो छ । नत नियमन हुन सकेको छ । नत उत्पादन बढेको छ । नेताका आसेपासेले नक्कली उद्यमी बनेर अनुदान पचाँउँदा बास्तविक उद्यमी मारमा परेका छौ ।”
जुम्लामा शनिवार आयोजित नवौ उद्योग दिवसका अबसरमा चौलागाईले अनुदान पचाउने नक्कली उद्यमीहरुको खोजी गर्नुपर्नेमा जोड दिईन् । दिवसमा छनोट गरेर सम्मान गरेर मात्रै उद्यमशीलता फष्टाउनेवाला छैन् । अनुदान विचौलिया लिने,सरकारी लगानी हचुवामा हुने,नियमन नहुने तर औपचारिकतामा दिवस मनाएर उपलब्धी नरहेको उनको गुनासो थियो ।
उद्यमीलाई अनाआबश्यक आश्वासन दिनु भन्दा पहिचान गरी सहुलियत दिने तथा उत्पादित बस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा उद्यमी सरोज शाहीले जोड दिए । उनका अनुसार अनुदान खानकै उद्योग दर्ता ह्वात्तै बढेपनि सञ्चालनमा निकै कम रहेका छन् ।
गुठिचौर ३ स्थित अर्गानिक फुड प्रोडक्सन प्रा.लिका सञ्चालक चित्रबहादुर बुढाले अनुदानका कार्यक्रम भन्दा पनि उद्यमीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने ठाउ‘मा लगानी गर्नुपर्ने बताए । उनले भने,अनुदान दिँदा वास्तविक उद्यमीको पहुँच पुग्दैन् । विचौलिया मात्रै मोटाउँछन् । एक बोर्ड राखेर उद्यमी बन्नेको संख्या बढ्छ । त्यसैले वास्तविक उद्यमी पहिचान गरी लगानी गर्न आबश्यक छ ।”
सम्मान पाउँदा हर्ष लागेपनि वास्तविक उद्यमीलाई सरकारको लगानी हुन नसकेको गुनासो पोखे । जो नेताका पछि लाग्छ उसैले अनुदान पाईरहेको छ । त्यसले उत्पादन गरेको छ वा छैन्,रोजगारी दिएको छ वा छैन् भन्ने बारे अनुगमन निरिक्षण नहुँदा अनुदानमखुी उद्योग फष्टाउने उत्पादन शुन्य हुने समस्या बढेको उद्यमी बुढाले उल्लेख गरे ।
२२ जना उद्यमी सम्मानित
नवाँै कर दिवसका अबसरमा जुम्लाका २२ जना उद्यमी सम्मानित भएका छन् । उद्यमशीलताका माध्यमबाट जिल्लाको आर्थिक समृद्धी र उत्पादनका क्षेत्रमा योगदान दिएको भन्दै जिल्लाका आठ पालिकाका २२ जना सफल उद्यमीलाई सम्मान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका सहायक प्रमुख विनोद कुमार बानियाले बताए । उनका अनुसार चन्दननाथ नगरपालिका ६ जना र अन्य सात पालिकाकाबाट प्रति पालिका २ जनाका दरले २२ जनालाई सम्मान पत्र प्रदान गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अनुदान खान उद्योग दर्ता गर्ने र पछि अलपत्र पार्ने नक्कली उद्यमीको खोजी गरिने बताए । बैंकबाट ऋण पाउन,सरकारबाट अनुदान पाउन उद्यमी बन्ने,उत्पादन नगर्नेहरुले सरकारी लगानी डुबाएको उनको भनाई छ । उद्योग दिवसमै उद्यमीको उत्साहपुर्ण सहभागिता नभएपछि जिसस प्रमुख आर्चायले सरोकारवालाले दिवसमा नआउने उद्यमीले उद्योग चलाउँछन् भन्ने विश्वास नरहेको ठोकुवा गरे ।
उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले निष्क्रीय रहेका उद्योगको सञ्चालन तथा खारेजी प्रक्रियामा जोड दिन सुझाब दिए । संख्यात्मक उद्योग र नक्कली उद्यमीको मारमा वास्तविक उद्यमी परेकोले अनुगमन गर्नु पर्ने उनको भनाई छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालले जुम्लामा कच्चा पर्दाथ तथा उत्पादनको सम्भावना राम्रो भएकोले वास्तविक उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । गाउँका उद्यमीलाई सक्रिया बनाउन पालिकासंग समन्वय सहकार्य गरेर अघि बढ्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको तयारी छ ।



