जुम्लामा १२३ दशमलव १४१ मेट्रिक टन पौष्टिक आहार (लिटोपिठो) वितरण गरिएको छ । नेपाल सरकार, विश्व खाद्य कार्यक्रमको सहयोग तथा एमडिआईको प्राविधिक सहयोगमा पौष्टिक आहारा वितरण गरिएको हो ।
पोषणमा सुधार ल्याउनका लागि पौष्टिक आहारा वितरण गरिएको एमडिआई जुम्लाका संयोजक नविन रावलले बताए । उनले भने गर्भवती महिला, जन्मेदेखि ६ महिनासम्मका दुई हजार २९४ जना बालबालिका र ६ महिनादेखि २३ महिनासम्मका ३ हजार ६७५ जना गरी जम्मा पाँच हजार ९६९ जना बालबालिका लाभग्राही रहेका छन् ।
यस्तै पोषणमा सुधार ल्याउन र स्वास्थ्य सरसफाईमा ध्यान दिन पनि सुझाएको छ । आमा समुहको वैठक, स्थानीय खाद्यन्नको प्रयोग खाने तरिका खाना बनाएर प्रदर्शनी जस्ता कार्यक्रम पनि गरिएको एमडिआई जुम्लाले जनाएको छ ।
पोषण सन्देश रेडियो जिङ्गल, महिला स्वयम् सेविकालाई पोषण सुधार सम्वन्धी तालिम, गर्भवती महिला तथा बच्चा हेरालो र धरालोलाई पौष्टिक आहार वितरण र स्थानीय खाद्यन्नबाट पोषण परिकार बनाउन परामर्श जस्ता कार्यक्रम पनि गरिएको जनाएको छ ।
पौष्टिक आहार बैशाखदेखि पुस महिनासम्म मात्रै वितरण गर्न पुग्ने अवस्था रहेको जनाएको छ । बाँकी माघ, फागुन, चैत करिव तीन महिना हरेक बर्ष पौष्टिक आहार अपुग नै हुने गरेको संयोजक रावलले बताए । उनले भने पौष्टिक आहार खरिद गर्न र ल्याव परीक्षण गर्न समय लाग्ने गरेको छ । १२ महिना पौष्टिक आहार वितरण गर्न स्थानीय स्तरबाट माग हुने गरेपनि त्यसको समाधान हुन सकेको छैन । हामीले पनि प्रतिवेदनमार्फत सम्वन्धित निकायलाई भन्ने गरेका छौँ तर सुनुवाई हुन सकेको छैन ।



