जुम्ला । तातोपानी गाउँपालिका वडा नं.२ का भैर दमाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरर्गत छाना फेर्ने कार्यक्रममा छनोट भए । छाना फेरेपछि छिटै भुक्तानी पाईएला,ऋण जोहो गरेको पैसा तिरौला भन्ने उनको आशा थियो । तर छाना फेरेको महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि भैर ऋण तिर्न कालापहाड हानिएका छन् ।
छाना फेर्ने कार्यक्रमले खर्च बढाउने रैछ । भैरकी श्रीमती लग्नमाया दमाई भन्छन,“छाना मात्रै फेर्न जस्ता खरिद बापतको पैसा सरकारले दिने रहेछ । तर पुरानो माटोको छाना फाल्दा,पर्खाल निर्माण गर्दा,काठ व्यवस्थापन गर्दा सरकारले दिने भन्दा दोब्बर खर्च आफ्नो हुदो रैछ । घर भत्काई सकेपछि निल्नु न ओकल्नु जस्तै भयो । ऋण निकालेरै जेनतेन घरको छाना फेरियो । भुक्तानी नपाएपछि श्रीमान कमाउन कालापहाड गएका छन् ।”
भैरको जस्तै समस्या तातोपानी ३ का नरेन्द्र दमाईले पनि भोगेका छन् । छाना फेर्ने कार्यक्रममा छनोट भएर उत्साहित भएका उनी अहिले ऋण लागेपनि दुखित छन् । सरकारी अनुदानमा छाना फेरिने भयो । केहि राहत पाईयो भन्ने आशा मानेका नरेन्द्रले ऋणका भरमा छाना फेर्दा पनि भुक्तानी नपाउँदा समस्या भएको बताउँछन् ।
उनी भन्छन,“छाना फेर्र्ने काम झन्झटिलो र खर्चिलो छ । बजेट कम छ । त्योपनि समयमै पाईदैन् । बरु जनता आवास कार्यक्रमनै उपयुक्त छ । छाना फेर्ने कार्यक्रमले विपन्न नागरिक ऋणमा मात्रै डुब्दै गएका छन् । चाडो भुक्तानी पाउनुपर्छ ।”
तातोपानी २ का मुन बहादुर कामी पनि छाना फेरेको ऋण तिर्न कालापहाड पुगेका छन् । छाना मात्रै फेर्ने सोच बनाएका उनले माटोको छानो भत्काएपछि पुरै घर भत्काउने स्थिती आयो । त्यतिकै जस्ता हाल्दा जोखिम हुने भएपछि दुईतले घर लगाए । घर निर्माण गर्दा त ऋण थपीयो नै तर छाना फेरेको ७५ हजार रुपैया पनि समयमै नआएपछि उनी कालापहाड गएको उनको परिवारले बताएका छन् । व्यक्तिगत ऋण त थियो नै । तर छाना फेरेको पैसा छिटै पाईन्छ भन्ने आशा थियो तर त्यो पनि नपाउँदा धेरै लाभग्राहि कालापहाड जान बाध्य भएका छन् ।

जुम्लाका सयौ नागरिक छाना फेरिसक्दा पनि भुक्तानी नपाउँदा समस्यामा छन् । गत आर्थिक वर्ष २०७९–८० मा जुम्लाका साढे २२ सय घरधुरीको छाना फर्ने कार्यक्रम परेको थियो । यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी र हिमा गाउँपालिकामा ठुलो संख्यामा छाना फेर्ने घर छनोटमा परे ।
जसमा चन्दननाथमा १२ सय,तातोपानीमा पाँच सय १२ र हिमामा पाँच सय १२ गरी करिब साढे २२ सय घरको छाना फेर्ने तय भयो । सोहीअनुसार तातोपानी र हिमाका एक हजार २४ घरधुरीले छाना फेरि सकेका छन् । तर भुक्तानी अधिकांशले पाएका छैनन् । तातोपानी २ कै कालो कामीले समेत भुक्तानी नपाउँदा निकै अप्ठायारोमा परेको दुखेसो गरेका छन् । तत्काल भुक्तानीको पहल गरिदिन उनको भाग छ ।
सरकारले विपन्न नागरिकको राहतका सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरर्गत छाना फेर्ने कार्यक्रम ल्याउँदा खुसी भएका लाभग्राही छानो फेरिसक्दा पनि भुक्तानी नपाउँदा दुखी मात्र भएका छैनन् । ऋण बढ्दै गएपछि छाना फेर्दा लागेको ऋण तिर्न कालापहाड पुग्न बाध्य भएका छन् ।
भुक्तानी पाएनन्,ऋणमा लाभग्राहि
सुरक्षित आवास कार्यक्रम अन्तरर्गत गत आव २०७९÷८० मा तातोपानी गाउँपालिकामा ५ सय १२ वटा घरको छाना फेरिएका छन् । विगतमा ५०÷६० वटा मात्रै घर छनोटमा पर्ने तातोपानीको पछिल्लो वर्षमा ठुलो संख्यामा नागरिक लाभान्वित भए । तर सरकारले बजेट नपठाउँदा समयमै भुक्तानी नपाएपछि लाभग्राहि ऋणको भारी बोक्न बाध्य भएका छन् ।
तातोपानीका ५ सय १२ जना लाभग्राहि मध्य हालसम्म ११ जनाले मात्रै भुक्तानी पाएका छन् । प्रतिघरलाई ७५ हजारका दरले ५१२ घरको ३ करोड ८४ लाख बजेट आउनु पर्ने हो । तर गत पहिलो ८ लाख मात्रै भुक्तानी आएपछि ११ जनाले पाए । अझै ५०१ जनाले पाउन बाँकी छ । जसलाई ऋणको ब्याज तिर्ने मुस्किल भईरहेको छ ।
चालु आवमा ४३ लाख मात्रै आएको छ । अति विपन्नलाई प्रथामिकता दिएर पहिलो चरणमा ५० हजारका दरले भुक्तानी दिने तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार अझै ३ करोड ३४ लाख बजेट आउन बाँकी छ ।

विगतको भन्दा घरको संख्या बढ्नु सुखद भएपनि सरकारले एकमुष्ठ रकम नपठाउँदा नागरिक मर्कामा परेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार बाँकी बजेट निकासाका लागि पहल भईरहेको छ । यदपी,नागरिकको गुनासो बढ्दै गएकोले विपन्नलाई प्रथामिकता दिएर भुक्तानी गर्ने तयारी रहेका उल्लेख गरे ।
उता हिमा गाउँपालिकामा पनि सरकारले बजेट नदिँदा ५ सय १२ जना मध्य अहिले सम्म करिब ३० जनाले मात्रै भुक्तानी पाएका छन् । भने ४८२ जना अझै भुक्तानी पाउन बाँकी छन् । भुक्तानी नपाएपछि धेरै लाभग्राहि ब्याज बढ्दै गएपछि ऋण तिर्न धेरै कालापहाड गईसकेका छन् । घरमा बसेकाहरुको ऋण तिर्न सक्ने अबस्था छैन् । ब्याज बढ्दै जाँदा भुक्तानीकै प्रतिक्षामा ऋण बढ्दै गएको छ ।
गत वर्ष १६ लाख बजेट आएर केहिलाई मात्र भुक्तानी दिइएको हिमाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए । उनका अनुसार चालु आवमा करिब ४४ लाख मात्रै बजेट आएकोले आर्थिक अबस्था मध्यनजर गरेर भुक्तानी गरिने छ । भुक्तानी चाहियो भन्दै दैनिक दर्जनौ लाभग्राहि पालिका आउने गरेपनि रित्तै फर्किने गरेका छन् ।
त्यस्तै कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर शाहीले गत वर्षमा ६१ घर परेकामा प्रतिघरधुरीलाई ५० हजारका दरले भुक्तानी दिईएको बताए । उनका अनुसार कनकासुन्दरीमा चालु आवमा छाना फेर्ने कार्यक्रम छैन् ।
तातोपानी ४ गौतबाडाका खड्क स्वाँरले सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमका नाममा जनतलाई ऋणमा डुबाएको बताए । जुम्लाका पुराना पत्रकार समेत रहेका स्वाँर भन्छन,“सयौ घरका छाना फेर्न लगाउने,करोडौ बजेटको डिजाईन स्टमेट गर्ने तर ३०÷४० लाख मात्रै बजेट पठाउने यस्तो गर्दा लाभग्राहि सिधासिधा ऋणको भारी बोक्न बाध्य भएकोले तत्काल बजेट व्यवस्थापन हुनु पर्नेमा उनको सुझाब छ ।”
चन्दननाथमा लाभग्राहि छनोट गरिदैँ
हिमा,तातोपानी र चन्दननाथमा एकै चरणमा छाना फेर्ने कार्यक्रम आएपनि चन्दननाथ नगरपालिकामा भर्खर लाभग्राहि छनोटको आवेदन मागिएको छ । उता तातोपानी र हिमामा काम सकेर भुक्तानी नपाएको गुनासो आईरहेको छ । तर चन्दननाथले चालु आवदेखि कार्यक्रम सुरु गर्ने तयारी गरेको हो । पुरानो कोटा ३ सय र नयाँ थप ९ सय गरी चन्दननाथमा १२ सय घरको छाना फेरिदै छ । तर चालु आवमा ९ सयको मात्रै छाना फेरिने छ ।
अन्य पालिकासंगै कार्यक्रम आएपनि कार्यविधिनुसार काम गर्न खोज्दा केहि ढिला भएको चन्दननाथले जनाएको छ । चन्दननाथका ९ सय घरधुरीका लागि आवेदन माग गरिएको सूचना प्रविधि अधिकृत विकल बुढ्थापाले बताए । ६ करोड ७५ लाख कुल बजेट मध्य चालु आवमा ५५ लाख मात्रै निकासा भएको जानकारी दिए ।
विगतमा थोरै संख्यामा मात्र घर पर्ने,प्रति घरलाई बजेट ५० हजार मात्रै दिईने गरेपनि गत वर्षबाट संख्या र बजेट बढेको हो । जुम्लामा सुरक्षित नागरिक आवास कार्यक्रमको संख्या बढाउन तथा बजेट व्यवस्थापनका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले पहल गरेको थियो ।
आयोजना कार्यालयका सवईन्जिनियर चन्द्र बहादुर खड्का लगायत पालिकाका अध्यक्षहरु खटिएका थिए । विगतमा थोरै संख्या पर्ने गरेपनि पालिकाहरुको मागनुसार संख्या थपिएको थियो ।
विगतमा छाना फेर्ने कार्यक्रम भएपनि चालु आवमा भने उक्त कार्यक्रम नभएको सिंजा,तिला,पातारासी र गुठिचौर गाउँपालिकाले जनाएका छन् ।



