जुम्लामा बालविवाह ः उजुरी शून्य, समाजमा व्याप्त

जुम्ला ः विवाह बारी २० वर्ष पारी भन्ने नारा नेपाल सरकारको नारामै सिमित भएको छ । यही नारालाई प्रथामिकतामा राखेर नेपाल सरकारको सन् २०३० सम्म बालविवाह मुक्त समाज बनाउने लक्ष्य रहेको छ । यसै लक्ष्यमा पुग्नका लागि नेपाल सरकार विभिन्न निकाय, गैरसरकारी संस्था र सामाजिक अभियानताले काम गर्दै आएको पनि देखिन्छ । तर प्रतिफल भने प्राप्त हुन सकेको छैन ।

सरकाको लक्ष्य अनुसार बालविवाह मुक्त समाज निर्माण गर्न अब झण्डै ७ वर्ष बाँकी हुदै गर्दा बालविवाह न्यूनिकरण हुन सकिरहेको अवस्था देखिएको छैन । समाजमा बालविवाह हुने गरेको भएपनि प्रहरीमा भने उजुरी रुपमा आउने गरेको पाइदैन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८÷७९ मा ३ वटा र ०७९÷८० मा १५ वटा बालविवाहका घटना रोकिएका छन् । प्रहरीमा बालविवाह हुन थालेको जानकारी आएपछि रोकेर बालबालिकालाई अभिभावकको जिम्मा लगाउने र उमेर नपुगेसम्म विवाह गर्न नपाइने सहमति न्यायिक समितिका संयोजकको उपस्थितिमा भएको प्रहरी निरीक्षक यमबहादुर बुढामगरले बताए ।

२० वर्षमुनि विवाह गर्न नपाईने कानुनी व्यवस्था भएपनि समाजमा बालविवाह भएको विभिन्न तथ्यांकले देखाउने गरेको छ । बालविवाह रोक्ने अभियानमा प्रहरी, स्थानीय तहका न्यायिक समिति, महिला बालबालिका शाखा, गैसरकारी संस्था, सामाजिक अभियान्ता, पत्रकारको सक्रियतामा बालविवाह रोक्ने काम गरेपनि न्यूनिकरण हुन सकेको चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाका बाल संरक्षण अधिकृत पुष्पा थापाले बताइन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार स्वास्थ्य संस्थामा आर्थिक वर्ष ०७९÷८० एक हजार ६२९ जना गर्भावस्था चेकजाँच गर्न आएका मध्ये ३१२ जना २० वर्षमुनिका किशोरी रहेका छन् । यस्तै ०८०÷८१ को कार्तिक महिनासम्म गर्भावस्था चेकजाँच गराउ आएका ५०३ जना मध्ये १०२ जना २० वर्षमुनि किशोरी रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्थिक वर्ष ०७८÷७९ मा गर्भावस्था चेकजाँच गर्न आउने ५५६ मध्ये १०८ जना २० वर्षमुनिका किशोरी रहेका छन् । यस्तै आर्थिक वर्ष ०७९÷८० मा एक हजार ८० मध्ये १३१ जना २० वर्षमुनिका किशोरी रहेको तथ्यांक रहेको छ । आर्थिक वर्ष ०८०÷८१ को कार्तिक महिनासम्म गर्भावस्था चेकजाँच गराउन आउने ३५९ जना मध्ये ३४ जना २० वर्षमुनिका किशोरी रहेको तथ्यांक रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लासहित मुगु, कालिकोट र डोल्पाका केही जुम्ला जिल्लासँग सिमा क्षेत्र जोडिएका पालिका सेवाग्राही आउने गरेका छन् ।
हालै क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार तीन वर्ष यता हिमा गाउँपालिकामा मात्रै एक हजार १०७ जनाको विवाह भएकोमा ७५५ जनाको बालविवाह भएको तथ्यांकमा छ ।
यस्तै सिंजामा ३०१ जनाले विवाह गरेकोमा १८४ जनाले बालविवाह गरेका छन् । कनकासुन्दरीमा तीन बर्षमा एक हजार ५३ जोडीले विवाह गरेकोमा ५ सय ७१ जनाले बालविवाह गरेका छन् । प्लान नेपाल र क्याड नेपालको सहयोगमा सन २०२० देखि बालविवाहको अध्ययन प्रतिवेदना बनाउन थालिएको थियो ।
जुम्ला जिल्लामा बालविवाहको एकिन तथ्य तथ्यांक नभएपनि विभिन्न तथ्यांक विश्लेषण गर्दा समाजमा बालविवाह हुने गरेको पुष्टि हुन्छ । महिला तथा बालबालिकाको क्षेत्रमा बालविवाह विरुद्धको साँझा अभियान सञ्जाल जुम्लाले पनि काम गर्दै आएको छ । यो सञ्जालले विशेष गरी चन्दननाथ नगरपालिका, सिंजा र कनका सुन्दरी गाउँपालिकामा कार्यक्षेत्र रहेको छ । यो सञ्जालमा किर्डाक नेपाल, पेस नेपाल, क्याड नेपाल, नेपाल पत्रकार महासंघ जुम्ला, साग्रिला एशोसियसन, इन्सेक, रेडक्रसलगायत संस्था आवद्ध रहेको सञ्जालका संयोजक मानदत्त रावलले बताए । उनले भने बालविवाह न्यूनिकरण गर्नका लागि कानुनी सचेतनासहित बालविवाहले स्वास्थ्य र शिक्षा क्षेत्रमा पार्ने असरका विषयमा अभिभावक र बालबालिकालाई सचेतीकरण गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस