टिकट वितरण पारदर्शी बनाउने निर्णय,अटेरी एयरलाईन्सको उडानमै रोक

जुम्ला । अघिपछि आबश्यक पर्दा त परै जावस जटिल काम होस या विरामी पर्दा र अस्पतालले रेफर गरीसक्दा पनि सर्वसाधारणले सहजै हवाई टिकट नपाउने समस्या जुम्ला विमानस्थलमा वर्षौदेखि छ ।

जुम्लाको हवाई सेवा पहुँचमुखी मात्रै भएको,सर्वधारणले सहजै टिकट नपाएकोे,ठुलाबडाको फोनमै टिकट फिक्स हुने,टिकट वितरणमा पारदर्शी नहुने समस्या वर्षौदेखि हालसम्म विद्यमान छन् । जसले गर्दा जुम्लामा हवाई सेवा पहुँच मात्रै भएको र सर्वसाधारणले सधै सास्ती पाएको स्पष्ट हुन्छ ।

जुम्लाको हवाई सेवालाई सहज र नागरिक मैत्री बनाउन पटक पटक छलफल निर्णय नभएका होईनन् । तर हवाई टिकट वितरण गर्ने व्यक्तिहरुको मनपरीले गर्दा नत निर्णय कार्यान्वयन हुन सक्यो । नत नागरिकले सहज हवाई सेवा पाए । सुधार नहुनुको सट्टा गुनासो बढ्दै जाने र टिकट वितरणमा पनि मनपरी चुलिदै जाने समस्या हाल सम्म छ ।

भूगोलका हिसाबले जुम्ला विमानस्थल कर्णाली प्रदेशकै बेस्थ र यात्रुको बढी चाप हुने विमानस्थलमा पर्छ । समिट,सिता,तारा र नेपाल एयरलाईन्सले जुम्लामा उडान गर्छन् । तर समिट एयर बाहेक अन्य जहाजको नियमित उडान छैन् । फाटफुट हुने उडानमै नागरिकले सास्ती पाउदै आएका छन् ।

हवाई सेवा सुधारबारे जुम्लामा विमानस्थलमा आईतबार आयोजित सरोकारवालाको छलफलले टिकट वितरणलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिएका छन्। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय,चन्दननाथका मेयर राजुसिंह कठायत,नागरिक अगुवा राज बहादुर महतले टिकट वितरणमै अनियमितता र ब्रमलुट भईरहेकोले तत्तकाल सुधार गर्नुपर्ने र अटेरी गर्ने एयरलाईन्सहरुलाई जुम्ला उडानमै रोक लगाउनु पर्ने आक्रोश पोखे ।

हवाई टिकट वितरणलाई पारदर्शी बनाउनेबारे छलफलमा सहभागी सरोकारवाला ।


समन्वय प्रमुख आर्चायले भने,“पहिलो दिन टिकट लिन जाँदा भोली जहाज आउने टुंगो छैन् भन्छन् । भोली गयो हिजोनै टिकट सबै गईसक्यो । जहाज प्याक भयो भनेर टार्छन् । यसरी टिकटमा मनपरी गर्छन् । यो त सरासर अनियमितता हो । यस्ता प्रबृत्तिलाई रोक्नुपर्छ ।”

साथै सबै एयरलाईन्सका टिकट काउन्टर बाहिर हुनुपर्ने,सरकारी सिट छुटाएर,आम नागरिकलाई लाईनमै टिकट दिनुपर्ने र अटेरी गर्र्ने एयरलाईन्सको उडानमै रोक लगाउनु पर्नेमा जिसस प्रमुख आर्चायले जोड दिए ।

मेयर राजुसिंह कठायतले काउन्टर बाहिर नखोल्ने,टिकट वितरणमा बह्रमुट मच्चाउन अब नपाईने ठोकुवा गरे । उनले भने,“अनलाईन टिकट वितरणका नाममा समेत एयरलाईन्सहरुले नागरिकलाई सास्तीमात्रै दिएका छन् । सुधारको बहस र निर्णय पटक पटक भएपनि कार्यान्वयन हुन सकेको छैन् । अब सबै सच्चीनुपर्छ ।”

नागरिक अगुवा राज बहादुर महतले अघिपछि सडक यातायात प्रयोग गर्ने सर्वसाधारणले दुःखी विरामी हुँदामात्रै हवाई सेवा खोज्दा समेत सहजै टिकट नपाउने प्रबृत्तिले कायम रहेको बताए । उनले भने,“टिकट वितरणमा मनपरी त छदैछ । यसलाई रोक्न प्रभावकारी बनाउन समेत प्रशासनले चासो दिएन् । नाम मात्रको अनलाईन सेवा छ । सर्वसाधारणले कहिले प्रयोग गर्न पाउदैनन् । अब अति भयो । हवाई क्षेत्रको मनपरी रोक्नु पर्छ ।”

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले टिकट वितरण प्रणाली सुधारेको खण्डमा जुम्लामा आउने पर्यटक र सर्वसाधारणले ढुक्कले हवाई सेवा प्रयोग गर्ने बताए । टर्मिनल भवन भन्दा बाहिर कार्यालय राखेर सहज रुपमा टिकट वितरण भए नभएको बारे हप्तादिनपछि अनुगमन गर्ने उनको भनाई छ ।

सुरक्षा प्रमुखहरु गणपति सुमन श्रेष्ठ,शसस्त्र प्रहरीका एसपी चेतराज जोशी र प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बाहिर काउन्टर राख्नुपर्ने लाईन लगाएर टिकट वितरण गर्ने र छुटाइएको सिटमा प्रथामिकरण गरेर मात्रै टिकट वितरण गर्नुपर्ने सुझाब दिएका छन् ।

टिकट वितरणमा पारदर्शी गर्ने निर्णय
जुम्लाको हवाई सेवा सुधार गर्नेबारे पटक पटक छलफल र निर्णय भएका छन् । तर कार्यान्वयन पक्ष निकै कमजोर भएको र प्रशासनले सुक्ष्म नियमन पनि नगरेको देखिन्छ । तर आईतबार आयोजित छलफलले भने जुम्लामा उडान गर्ने एयरलाईन्सहरुको टिकट वितरणलाई पारदर्शी गर्ने निर्णय गरेको छ । जुम्लामा (समिट,सिता,तारा र नेपाल एयरलाईन्स)ले जुम्लामा उडान गर्दै आएका छन् । यी सबै एयरलाईन्सहरुको टिकट वितरण पारदर्शी नभएको गुनासो छ ।

जुम्ला विमानस्थलमा संचालित सबै वायुसेवा कम्पनीहरूले आ–आफ्नो (जीएसए) सँग सहकार्य गरी एयरपोर्ट बाहिर कार्यालय खोल्ने,डायरीमा नाम लेख्ने व्यवस्था मिलाई पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय भएको छ ।

सबै वायुसेवा कम्पनीहरूले विहान १० देखि आ–आफ्नो उडान नसकेसम्म कार्यालय संचालन गर्ने र भोलि हुने उडानको टिकट एक दिन अगाडिनै वितरण गर्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै १८ सिटे वायुसेवा कम्पनीहरूले १० सिट आ–आफ्नो कार्यालयबाट र सिता एयरको हकमा (७ सिट ) बाड्ने र बाँकी रहेको सिट बिरामी, असक्त, सुरक्षाकर्मी, र अन्य इमर्जेन्सि काम परेका व्यक्तिका लागि व्यवस्था गर्ने निर्णय गर्ने निर्णय भएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए ।

उनले भने,“टिकटलाई पारदर्शी बनाउन गरिएका निर्णय कार्यान्वयमा सबैले जोड दिएमा केहि सुधार होला । सर्वसाधारणले टिकट पाउँलान । तर नियमित उडान गर्ने कुरा हाम्रो लेबलबाट सम्भव छैन् ।”

साथै विरामी,अशसक्त,जटिल काम परेका मान्छे नछुटुन भन्नका लागि सुरक्षाकर्मी,सरकारी र विरामी सिटमा जाने यात्रुको एदेखि सी सम्म वर्गिकरण गर्ने निर्णय भएको छ । वर्गीकरण गर्दा पहिलो प्रथामिकता (ए)मा विरामी,दोस्रो (बी)मा सरकारी र तेस्रो (सी)मा सुरक्षाकर्मीलाई सिट छुटाउनु पर्ने छ ।

सिता एयरले ४ सिट बाहेक अन्य एयरलाईन्सले ६ सिट बर्गीकरण गरेर बाड्ने छ । सरकारी कर्मचारी,सुरक्षाका लागि छुटाईएका सिटमा प्रायःसर्वसाधारणनै उड्न पाउने छन् । तर अत्याआबश्यक काम परेको बेला भने छुटाइएको सिट सुरक्षाकर्मी,सरकारी कर्मचारीलेनै प्रयोग गर्नेछन् ।

टिकट वितरण सधै नागरिकमैत्रीनै भएको दाबी गर्दै टिकट वितरण, भनेजस्तो गर्न सजिलो नभएको एयरलाईन्स कम्पन्नीहरुले बताएका छन् । नागरिकले आफु टिकट पाउँदा चुप लाग्ने र नपाउने बित्तिकै गुनासो गर्ने प्रबृत्ती बढेकोले व्यवस्थापनमा सकस रहेको समिट एयरका गोविन्द भण्डारीले बताए ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस