जुम्ला । तातोपानी गाउँपालिका वडा नं.२ निवासी उमेरले ६ दशक नाघिसकेकी लक्षिमा बुढा साहारा विहिन छन् । उमेर ढल्कीदै गएपछि वनमा गएर काठ दाउरा ल्याउन सम्भव छैन् । गाउँघर छिमेकमा दाउँरा मागेरै चुल्ने बाल्ने लक्षिमाको दैनिकी कष्टकर बन्दै गएको छ । सधै दाउँरा मागेर सम्भव नभएपछि लक्षिमालाई विहान बेलुका कसरी खाना पकाउने भन्ने चिन्ताले सधै पिरोल्थ्यो ।
तर वडापालिकाले लक्षिमाको उमेर र समस्यालाई मध्यनजर गर्दै ग्याँस चुलो दिएपछि राहत भएको छ । “घरमा गएको अन्नलाई पकाउने दाउँरा नहुँदा समस्या हुन्थ्यो । वडाले ग्याँस चुलो दियो । अब एक्की मान्ठकन २÷३ महिना खाना पकाउन पुगिजाला । गरिब गुर्जाकन सहयोग गन्र्या भलैहोस् ।”
त्यस्तै दाँउरा बालेर धुलो धुँवाले बुढेसकालमा श्वास प्रश्वासमा समस्या हुने चिन्ता मान्दै आएकी तातोपानी २ की जेष्ठनागरिक लालकली दमाई पनि ग्याँस चुलो पाउँदा खुसी छन् । तातोपानी गाउँपालिका वडा नं. २ को कार्यालयले लक्षिमा बुढा,लालकली दमाई,मिठ्या कामी र बाटु रावतलाई राहत स्वरुप ग्याँस चुलो वितरण गरेको वडाध्यक्ष चन्द्रमान बुढाले बताए । आईतबार गाँउपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले ग्यास चुलो वितरण गरेका हुन
वडाध्यक्ष बुढाकानुसार उमेर ढल्केका बुढापाकालाई राहत होस भन्नका लागि विपद् व्यवस्थापन शिर्षकबाट ग्याँस चुलो वितरण गरिएको हो । आगामी दिनमा वडाका विपन्न नागरिकको राहत उद्दार,रोजगारी सृजना लगायतका क्षेत्रमा वडाले लगानी गर्ने वडाध्यक्ष बुढाको भनाई छ । तत्काल चार जना विपन्न तथा जेष्ठनागरिकलाई पहिचान गरी ग्याँस चुलो वितरण गरिएको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाले हचुवाका भरमा राहत दिने भन्दा आबश्यकता पहिचान गरेर मात्रै राहत दिने गरिएको बताए ।
उनले भने,“सरकारको राहत भन्ने बित्तिकै हुनेखानेहरु पनि आवेदन दिन आउँछन् । तर हामीले बस्ती बस्तीमा पुगेर वास्तविक विपन्न,राहत आबश्यक भएको मान्छे पहिचान गरेर दिने गरेको छौ । राहत परिणामा थोरै र राहत पाउने लाभग्राही संख्यामा कम भएपनि आबश्यक टर्ने राहत मिल्ने हाम्रोे अपेक्षा हो ।”
जेष्ठनागरिकको राहत तथा सुरक्षाका लागि तातोपानीले सेवा मुलक कार्यक्रममा समेत जोड दिएको छ । पालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने वडा नंं.७ र ८ का जेष्ठनागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा निशुल्क यातायात सेवाको समेत व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष चौलागाईले बताए ।



