चर्किएपछि भत्काइएको पक्की पुल बनेन,जीर्ण बेलिब्रिजबाटै यात्रा

जुम्ला । जुम्ला–कालिकोट जिल्ला जोड्ने पक्की पुल सिमावर्ति क्षेत्र नाग्ममा निर्माण हुँदै थियो । तीन पटक सम्म म्याद थपगरी निर्माण भएको पुल अन्तिम चरणमा पुग्यो । अब केही महिनामा उद्घाटन हुन्छ । सुरक्षित यात्रा गरिन्छ भन्ने आशामा नागरिक थिए । नागरिक पक्की पुल सञ्चालन संगै जीर्ण बेलिब्रिजको जोखिम यात्राबाट मुक्ति पाईने आशामा थिए ।

विडम्बना पुलको निर्माण कार्य नसकिदै अन्तिम चरणमा गत साल असारमा पुल चर्कियो । पुलमा मात्र चर्किएन्,सुरक्षित यात्रा गर्ने नागरिकको आशा अपेक्षाहरु पनि चर्किए । अहिले पनि दुई दशक पहिला निर्माण भएको जीर्ण बेलिब्रिजबाटै यात्रा गर्न जुम्ला तथा कालिकोटबासी लगायत कर्णालीमा आउने हजारौ पर्यटक बाध्य छन् । ठेकेदारले निर्माणका क्रममा लापरबाही गरेपछि निर्माण सकिनै लागेको पक्की पुल चर्किएको स्थानीयको आरोप छ ।

निर्माण कम्पनीले उच्च प्रविधियुक्त अर्थात् (प्रिस्टेस) प्रविधिको कर्णालीकै दोस्रो पुल भएकाले अन्तिम स्ट्रेसिङ अर्थात् लडा तान्दा समस्या आई चर्किएको स्वीकार गरेको थियो । भने एक वर्षमै पुर्ननिर्माण गर्ने दाबी पनि गरेको थियो । तर पुल चर्किएर भत्काईएको डेढ वर्ष पुगिसक्दा पनि पुर्ननिर्माण हुन सकेको छैन् ।

जसका कारण २०६१÷०६२ सालबाट सञ्चालित जीर्ण बेलिब्रिजबाटै ठूला तथा साना यात्रुबाहक र माल बहाक सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन् । कति बेला दुर्घटना हुने टुंगो छैन् । बेलिब्रिजको फाउन्डेसनको भागमामा हिमा नदीले असर गर्दै आएको छ । त्यसैले तत्काल पक्की पुल बनाउनु पर्ने आबश्यकता छ । तर ठेकेदारले चर्किएको पुल भत्काईसकेपछि पुर्ननिर्माण कार्य अघि बढाएको छैन् ।

गाडी गुडाउने अन्तिम तयारीमा रहेको पुल चर्किएपछि पूर्णरूपमा भत्काइएको हो । सडक डिभिजन सुर्खेतको मातहतमा सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा लिएको थियो । छिटै पुर्ननिर्माण गर्ने बाचा गरेको कम्पन्नी अहिले बेखबर छ ।

अब चिसो समय आईसकेकोले काम गर्न सम्भव छैन् । थोरै भएको लापरबाहीले तिलानदीसँगै राज्यको करोडौं बजेट बगेको मात्र छैन । वर्षौंदेखि जोखिमयुक्त यात्रा गर्दै आएका नागरिकको पक्की पुलमाथि सुरक्षित यात्रा गर्ने आशासमेत निराशामा बदलिएको छ । जीर्ण बेलिब्रिजमा यात्रा गर्न बाध्य छन् ।

चर्किएपछि भत्काइएको पक्की पुल अलपत्र अबस्थामा,कहिले होला पुर्ननिर्माण ?


६ वर्षदेखि अलपत्र पुल चर्किएपछि पुर्ननिर्माण छिटै हुने आशा गरिएपनि निर्माण पक्ष गैरजिम्मेवार बनेको जुम्लाका नागरिक अगुवा राज बहादुर महत बताउँछन् । पुल चर्किएको करिब ७÷८ महिनापछि भत्काउन सुरु गरियो । तर पुल चर्किएको यही असारमा ठ्याक्कै डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।

उनले भने,“जीर्ण बेलिब्रिजको यात्रा कहिले सम्म गर्ने हो ? पटक पटक म्याद थपेर पनि समयमै नबनाएको निर्माण कम्पन्नीले अहिले घाटामा गएको बेला चाडै पुल बनाउने आशा पनि छैन् । नियमन गर्ने निकायहरु पनि मौन देखिए । कर्णालीका नागरिकले सधै जोखिम मोल्नु पर्ने ? पुल निर्माण सुरु हुनुपर्छ ।”

३० कात्तिक २०७४ मा सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालिसँग दुई वर्षमा कार्यसक्ने गरी सम्झौता भएको थियो । सम्झौतामा १४ चैत २०७५ मा पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ हुने उल्लेख थियो । तर ६ वर्षसम्म पनि निर्माणकार्य नसकिएको उक्त पुल गत असारमा चर्किएपछि पूर्णरूपमा भत्काउनु परेको हो ।

उक्त पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहेको छ भने यो पुल ५० टन लोड क्षमताको रहेको थियो । सम्झौता मिति सकेर तीन पटक म्याद थपेर पनि ६ वर्षसम्म अलपत्र रही अन्तिम चरणमा चर्किएर भत्काएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा सुर्खेत सडक डिभिजनले ताकेता गरेको छैन ।

तिला नदीसँगै राज्यको करोडौं बजेट बग्यो । कालोसूचीमा पर्ने डरले चर्किएको पुल भत्काए पनि पुनर्निर्माण कहिले हुने टुंगो छैन । चाँडै भत्काइएको पुल पुनर्निर्माण हुनुपर्ने स्थानीयको माग छ । यो पुल उच्च प्रविधियुक्त अर्थात् (प्रिस्ट्रेस) प्रविधिको कर्णालीकै दोस्रो पुल हो । कमसल सामग्री प्रयोग नभई फाइनल स्ट्रेसिङ अर्थात् (लडा तान्दा) समस्या आएको हो । हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या देखिएको पुल निर्माण कम्पनीको तर्क छ ।

जीर्ण बेलिब्रिज पूलको यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यका साथ काम गरेपनि प्राविधिक समस्या भए उक्त पुल चाडै निर्माण हुने साइट इन्जिनियर अशोक चौधरीले बताएका थिए ।

केही महिना अघि पुल पुर्ननिर्माणबारे बुझ्दा ईन्जिनियर चौधरीले चाडै निमार्ण सुरु हुने बताएपनि हाल सम्म कुनै काम भएको छैन् । अहिलेसम्म कामको भुक्तानी नलिएको र पुनर्निर्माण पश्चात स्टिमेटअनुसार काम भएपछि मात्रै ठेकेदारले भुक्तानी पाउने उनको भनाइ छ निर्माण कम्पन्नीले पुल नबनाए सम्म फर्म कालो सूचिमा पर्ने भएकोले पनि कुनै पनि हालतमा निर्माण गरेरै छाड्ने दाबी गर्दै आएको छ । आगामी फागुन चैतबाट मात्रै काम अघि बढ्ने देखिन्छ ।

यदपी,जीर्ण बेलिब्रिजबाट यात्रा गर्नु परेकोले कुनैबेला दुर्घटना हुन सक्ने भन्दै पुल निर्माणलाई अघि बढाउनु पर्नेमा नागरिकको माग छ । दुई दशक पहिला बनाएकै पुलबाट यात्रा भईरहेको छ ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस