बीमा साक्षरताको अभावः जुम्लाका ४७ सय घरकोमात्रै बीमा

जुम्ला । कर्णालीका दुरदराज गाउँसम्म बीमा शिक्षा पुग्न नसक्दा विपन्न नागरिक बीमाको पहुँचमा आउन सकेका छैनन् । न्युन पैसा तिरेर पनि भविष्यमा आईपर्ने विपद्बाट क्षति भएमा राहत पाईने चेतना धेरैलाई छैन् ।

प्रायः सदरमुकाम मात्रै केन्द्रित भएका बिमा कम्पन्नीहरुले गाउँसम्म बीमाका फाईदा र विपद्पछि पाईने क्षतिपुर्ति तथा राहतका विषयमा प्रष्ट पार्न सकेका छैनन् । जसका कारण कर्णाली प्रदेशमा नीर्जिवन बीमाको पहुँच ६ प्रतिशत मात्रै रहेको छ । अझै ९६ प्रतिशत नागरिकले नीर्जिवन बीमा अर्थात घर,भवन,सम्पत्तिको बीमा गरेका छैनन् ।

कर्णालीको परिबेशमा थोरैले बुझेर पनि बीमा गरेका छैनन् । भने धेरैले नबुझेकै कारण जीवन तथा नीर्जिवन कुनै पनि बीमा गरेका छैनन् । जसका कारण घर भत्कीदा होस्,भेडाबाख्रा भैसी मर्दा होस् या अन्य कुनै क्षति हुँदा होस् पिडितले आबश्यकता र क्षतिनुसारको राहत पाएका छैनन् ।

गत असोजमै जुम्लामा आएको बाढीले १८ हेक्टर क्षेत्रफलको मार्सीधानमा क्षति गर्दा करिब १२ सयबढी किसानले क्षति व्यहोर्नु पर्यो । करिब ७ करोड भन्दाबढीको धानखेतीमा नष्ट भयो । तर प्रति किसानले सरकारबाट ४१२ रुपैया मात्रै राहत पाए ।

यदपी,कृषि बीमा गरिदिएको भए सबै किसानले क्षति र उत्पादन हुने मात्रा बराबरकै राहत पाउन्थे । दुई वर्ष पहिले जुम्लाको पातारासीमा चट्याङ लाग्दा ५ किसानका डेढ सयबढी भेडाबाख्रा मरे । तर पशु बिमा नगरेकै कारण किसानले सुक्को राहत पाएनन् । बिमाबारे कुनै जानकारी नभएकै कारण बिमा नगरेको किसानको गुनासो थियो ।

त्यसैगरी कर्णालीमा पछिल्लो समय भुकम्पीय जोखिम त्यसले निम्त्याउने क्षति बढ्दो छ । अधिकांश गाउँमा माटो र ढुंगाले बनेका परम्परागत घर हुनु,भुकम्प बाढी पहिरोले त्यस्ता घरमा बढी क्षति हुने राहतका नाममा त्रिपाल र केही खाद्यन्न बाहेक अरु नपाउने समस्याले पिडित मर्कामा छन् । बढ्दो भुकम्पीय जोखिम तथा बाढी पहिरोको प्रकोपलाई मध्यनजर गर्दै कर्णालीमा घर बिमा कार्यक्रमलाई गाउँ गाउँसम्म पुराउन आबश्यक रहेको छ ।

परम्परागत घरहरु बढी भएकोले सामान्य वर्षा हुँदा पनि ठुलो भौतिक क्षति हुने स्थिती छ । क्षतिपछि त्रिपाल,खाद्यन्न राहत दिनु भन्दा सबै पालिकाले अनिवार्य घरबीमा गर्ने नीति ल्याउन जरुरी छ ।

एकमुष्ट बीमा गरिदिँदा पालिकालाई भार पनि कम हुने र स्थानीयलाई राहत पनि बढी पाईने भएकोले स्थानीय सरकार र बिमा कम्पन्नीहरुले बिमा शिक्षासंगै बिमाको पहुँच बृद्धि गर्न गाउँ गाउँ पुग्न आबश्यक रहेको छ । बीमा प्राधिकरण सुर्खेत कार्यालयले पनि बीमाको पहूँच न्युन भएकोले कम्पन्नीहरु गाउँ केन्द्रित हुनुपर्नेमा जोड दिदै आएको छ । तर कार्यान्वयन हुन सकेको छैन् ।

शिक्षा, आयस्तरको कमी, बढ्दो बेरोजगारी, ठोस बीमा नीति नहुनु र बीमा शिक्षाको कमीले कर्णालीका दूरदराजसम्म बीमा पुग्न सकेको छैन । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको तथ्यांकअनुसार कर्णालीका ४ प्रतिशत नागरिकमात्रै जीवन बीमाको पहुँचमा पुगेका छन् । कुल जनसंख्याको ९६ प्रतिशत नागरिक अझै बीमाको पहुँचबाहिर रहेका छन् । र

कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ छ । कुल जनसंख्यामध्ये सक्रिय जीवन बीमालेखको संख्या २ लाख १७ हजार ६ सय ५० रहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले बताए ।
कर्णालीका गाउँगाउँसम्म बीमाको पहुँच विस्तार गर्न प्राधिकरणले सबै बीमा कम्पन्नीदेखि बीमा अभिकर्ता, स्थानीय पालिकासंग समन्वय गरिरहेको प्रमुख सोडारीले उल्लेख गरे ।

जुम्लाका ४७ सय घरधुरीको बीमा
राष्ट्यि जनगणना २०७८ को तथ्यांक अनुसार जुम्लामा कुल घरधुरी संख्या २० हजार रहेको छ । आठ स्थानीय तह रहेको जुम्लामा करिब २० हजार घरधुरी छन् । तर शिखर ईन्सोरेन्स कम्पन्नीको तथ्यांकले करिब २० हजार घरधुरी रहेको जुम्लामा हाल सम्म ४७ सय घरधुरी मात्रै बीमाको पहुँचमा आएको देखिन्छ ।

जसमा तातोपानी गाउँपालिकाले केहि साता पहिला मात्रै पालिकाका ३३ सय घरधुरीको बिमा गरिदिएको थियो । भने यस अघि शिखर ईन्सोरेन्स कम्पन्नीले जुम्लाका १४ घरधुरीको बिमा गरिएको शिखर इन्सोरेन्सका कर्णाली प्रदेश ईन्चार्ज रिसिराम पाण्डेले बताए ।

उनले भने,“हामीले स्याउ बीमा गर्दा सबै किसानलाई घर बीमा गर्नुहोस विपद् आएपछि राहत पाईन्छ भनेर अनुरोध गर्दा १४ सय घरधुरीको घर बीमा गरेका थियौ । गत वर्षसम्म स्याउ बिमा २४ सय किसानले गरेपनि घर बिमा गर्न धेरैले मानेनन् । बीमा पहुँच नबढ्नुमा थोरैले थाहा पाएर पनि नगुर्न र धेरैले थाहा नपाउनु मुख्य समस्या हो । हामी गाउँ केन्द्रित बीमा कार्यक्रम चलाउने तयारीमा छौ ।”

जुम्लाका चन्दननाथ नगरपालिका,पातारासी गुठिचौर,कनकासुन्दरी,सिंजा,हिमा र तिला गाउँपालकाका १४ सय घरधुरी मात्रै घरबीमाको पहूँचमा आउँदा उदाहरणीय रुपमा तातोपानी गाउँपालिकाका ३३ सय घरधुरीनै बिमाको पहूँचमा पुगेको ईन्चार्ज पाण्डेले जानकारी दिए । सबैभन्दा धेरै घरबिमित तातोपानी र कम पातारासीमा रहेका छन् ।

२० हजार घरधुरी संख्या रहेको जुम्लामा ४७ सय घरधुरी मात्रै बिमित हुनु यो निकै न्युन हो । घर बिमालाई बढाउन जरुरी रहेको छ । तातोपानी गाउँपालिका जस्तै अन्य पालिकाले पनि घरबीमाको नीति ल्याएमा जनताको दिर्घकालीन रक्षा हुने उनको भनाई छ ।

ग्त वर्ष स्याउ बीमा गर्दा २÷३ सय थपेर घर बीमा गरेका तर वर्षातले घर भत्कीएका सिञ्जाका स्थानीयलाई न्युनतम ७० हजार देखि अधिकतम ५ लाख सम्म गरेर १ करोड बराबरको दाबी भुक्तानी गरिएको शिखर ईन्सोरेन्स कम्पन्नीले जनाएको छ ।
बीमा शिक्षालाई गाउँ गाउँ पुराएर सबै नागरिकलाई बीमाको पहूँचमा ल्याउन स्थानीय सरकार बिमा कम्पन्नीले सहकार्य गर्नुपर्नेमा पाण्डेको जोड छ ।

यता तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले एकमुष्ट पालिकाभरीकै घरधुरीको बीमा गरिदिएपछि सामान्य देखि ठुलो क्षति हुँदा राहतका लागि निवेदन बोकेर पालिका धाउने झन्झटको अन्त्य हुने बताए ।

सबैलाई राहत दिँदा स्रोतले नपुग्ने र पालिकाले दिएको राहतले आबश्यकता पनि परिपुर्ति नहुने भएकोले दिर्घकालीन समधानै बीमा ठानेर घरबीमा गरिएको अध्यक्ष चौलागाईको भनाई छ । उनले अन्य पालिकालाई पनि सामान्य त्रिपाल,खाद्यन्न दिनु भन्दा एकमुष्ट घरबीमा गर्ने नीति ल्याउन सुझाब दिएका छन् ।

जुम्लामा दर्जनौको सख्यामा बीमा कम्पन्नीहरु भएपनि गाउँ गाउँ सम्म गएर विपन्न नागरिकलाई बीमाको पहूँचमा ल्याउने गरी काम नगरेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । उनले स्थानीयतह संग समन्वय गरी सबै बीमा कम्पन्नीहरु गाउँ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस