जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला सहित मुगु,डोल्पा हुम्लाको जनजीवन यतिबेला चिसोले प्रभावित भएको छ । बृद्धबृद्धाहरु,बालबालिकाहरु विहान बेलुकाको समयमा चिसोले घर बाहिर निष्कन सक्ने अबस्था समेत छैन् । पुष महिनाको कठ्यांग्रिदो चिसोबाट प्रभावित विपन्न नागरिक,बृद्धबृद्धाको समस्यालाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले न्यानो कम्बलदेखि कपडा वितरण गरेको छ ।
यूवा बयस्कहरुनै चिसाले प्रभावित भईरहेको बेला बृद्धबृद्धा,एकल महिला अपांग भएका व्यक्तिहरुको अबस्था कस्तो होला ? भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसैमाथि विपन्न समुदायको त विचल्लीनै भएको छ ।
उमेर छिपिदै जाँदा साहाराको खोजी गर्ने,न्यानो र सम्मानको अपेक्षा गर्ने बृद्धबृद्धाको मनसायलाइ बुझ्दै तातोपानी गाउँपालिकाले ग्याँस चुलो,कम्बल,स्वीटर देखि जकेट वितरण गरेको छ ।
जसअन्तरर्गत बुधबार तातोपानी गाउँपालिका वडा नं.५ ले वडाभित्र बृद्धबृद्धा,एकल महिला र अपांग भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो । वडा भित्रका एक सय ७० जना विपन्न नागरिकलाइ स्वीटर र जकेट वितरण गरेको वडाध्यक्ष छिरिङ महतले बताए । उनका अनुसार एक सय ७० जनालाई ३ लाख बराबरको न्यानो कपडा बाडिएको हो ।
वडाध्यक्ष महतले भने,“कोहि नहुने हरुका लागि वडा सरकार छ । वडाका विपन्न व्यक्तिलाई खाद्यन्नदेखि लत्ता कपडा पनि दिदै आएका छौ । आज जेष्ठनागरिक दिवसका अबसरमा लक्षित वर्ग कार्यक्रम अन्तरर्गत उपहार स्वरुप न्यानो कपडा दिएका हौ । यसले हिँउद कटाउन सहज हुने राहत महसुश गर्ने अपेक्षा छ ।”
न्यानो कपडा पाएसंगै चिसोबाट प्रभावित बृद्धबृद्धा खुसी भएका छन् । वडा पालिका भएदेखि बेलाबेला दिईने यस्तै राहतले विपन्न र निमुखाहरुका लागि पनि सरकार छ भन्ने अनुभुति भएको बृद्ध फाँचु दमाई बताउँछन् । बेसाहरा फाँचुको साहारा भनेकै वडापालिका हो । भरोसा भनेकै वडाध्यक्ष र पालिका अध्यक्ष हुन् ।
उनले भने,“न्यानो कपडा पाए खुसी छु । कसरी चिसो कटाउने भन्ने चिन्ता थियो अब ढुक्क भइयो । कोरोना बेला चामल नुन तेल दिया । त्यस्तै कहिले कम्बल,कहिले जकेट दिन्छन् । हामी जैथा कोहि नहुन्या वडा पालिका छ भन्ने आशा लाग्दो छ ।”
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सिमित स्रोतका बीच पनि सबै क्षेत्रको आबश्यकता पहिचान गरी काम गर्दै आएको बताए । लक्षित वर्ग पालिकाको विशेष प्रथामिकतामा रहेको उनको भनाई छ ।
यसैबीच तातोपानी गाउँपालिका वडा नं.६ ले पनि मंगलबार वडा भित्रका एक सय ७० जना विपन्न नागरिकलाई न्यानो कम्बल बाडेको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत जेष्ठनागरिक, एकल महिला, गरिब, विपन्न, अपांगता भएका व्यक्ति एक सय ७० जनालाई न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए ।
लक्षित वर्ग कार्यक्रममा तीन लाख बजेट विनियोजित गरिएकोमा सोही बजेटबाट वडाका एकसय ७० जना विपन्नलाई कम्बल वितरण गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए । गत साता तातोपानी वडा नं. २ ले चार जना विपन्नलाई ग्याँस चुलो दिएको थियो ।
चिसो बढ्दै गएको बेला न्यानो कम्बल पाएपछि राहत महसुश भएको तातोपानी –६ का ज्येष्ठ नागरिक काले विष्टले बताए । थोरै भएपनि कम्बल,जकेट जस्ता राहतले पुष माघको चिसोमा ठुलो राहत गर्ने उनिहरुको भनाई छ ।
बढ्दो चिसोलाइ मध्यनजर गर्दै दुई वडाका दुई सय ४० जना बृद्धबृद्धा लाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनका अनुसार वडा नंं ६ का १७० र वडा नं. ५ का १७० गरी २ सय ४० जना विपन्नलाई बढ्दो चिसोको मध्यनजर गर्दै न्यानो कपडा बाडिएको अध्यक्ष चौलागाईको भनाई छ ।



