जुम्ला ः स्वदेशमै रोजगारीको माग गर्दै जुम्लामा पनि अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्ला जिल्ला कमिटीको संयुक्त आयोजनामा सरकारविरुद्ध प्रदर्शनी भएको छ । शक्रबार बालकुमारी ग्वार्को चोक नजिकै रहेको इपिएस (रोजगार अनुमति प्राणाली) कार्यालय अगाडी भएको प्रदर्शनीमा प्रहरी दमन हुँदा वीरेन्द्र शाह र सुजन रावतको ज्यान गएसँगै देशभर प्रदर्शन भइरहेको छ ।
यसैबीच जुम्लामा पनि प्रदर्शन भएको हो । सरकारले रोजगारी दिन नसक्ने विदेश जान खोज्दा ज्यान मार्ने हो भने त्यसलाई जनपक्षीय सरकार मान्न नसकिने राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य शारदा पछाईले बताइन् ।
ज्यानमारा सरकारको रबैया विरुद्ध सडकमा आउनु र सडकबाटै सत्ता पल्टाउनुको विकल्प नरेहको अनेरास्ववियुका केन्द्रीय सदस्य विराज भण्डारीले बताए । प्रदर्शनीमा युवा विद्यार्थीहरुले ’सरकार सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे’ ’ज्यामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाइएको थियोे ।
युवाहरुलाई स्वदेशमा रोजगारी नदिने, विदेश जान्छु भन्दा मारिदिने सरकार नेपाली जनतालाई नचाहिएको अनेरास्ववियु जुम्लाका अध्यक्ष रतननाथ योगीले बताए ।



