आरन पेशा जोगाउन वडाद्धारा सामाग्री सहयोग

जुम्ला । विरभद्र कामी,तातोपानी गाउँपालिका वडा नं.२ जर्मीगाउँका एकमात्र आरनको काम गर्ने मान्छे हुन् । उमेर पाँच दशक नाघि सकेका विरभद्रले १५÷१६ वर्षको उमेरबाटै आरन चलाउन थालेका थिए । सिजननुसार उनलाई फलामका सामान बनाउन भ्याईनभ्याई हुन्छ ।

कार्तिकमा मार्सीधान काट्दा,वनमा काठ दाउरा ल्याउने समय हुँदा,धान,सिमि लगायतका बाली गोडमेल गर्दा,हसिया,कुटो,कोदालो,बन्चरो लगायतका सामाग्री बनाउन विरभद्रलाई फुर्सदनै हुन्न् । करिब १ सय ७० भन्दा बढी घरधुरी रहेको जर्मीगाउँमा एक मात्र आरन चलाउने उनी मात्र हुन् ।

आगो र फलामको राप र तापसंग नजुदेसम्म विरभद्रको अहिले पनि चुलो बल्दैन् । उनको आरन पेसा घर परिवार चलाउने मुख्य स्रोत पनि हो । तर केहि समययता आरनको पंखा विग्रीएपछि उनको व्यवसाय ठप्प भएको थियो । नयाँ पंखा किन्ने पुँजी नहुँदा निरास भएका विरभद्रको आरन पेशालाई जोगाउन वडाले आबश्यक सामाग्री सहयोग गरेपछि उत्साहित भएका छन् ।

आरनको पंखा विग्रीएपछि समस्या भोग्दै आएकोमा वडाले सामाग्री दिएपछि निकै खुसी लागेको स्थानीय विरभद्र कामीले बताए । १५÷१६ वर्षकै उमेरबाट आरन चलाउन थालेको हुन् । उनले भने,“पहिला भेडा बाख्राको छालाको पंखा हुन्थ्यो । जेनतेन व्यवस्थापन गरिन्थ्यो । अहिले त्यस्तो पंखा लोभ हुन थाल्यो । आधुनिक पंखा किन्ने पैसा थिएन् । वडाले निशुल्क दियो निकै खुसी छु । पैसा जती परेपनि यसले मेरो पेसा जोगाउने र विहान बेलुका चुलो बाल्न सहयोग पुराउने छ ।”

तातोपानी गाउँपालिका वडा नं. २ ले कामीलाई आरन पेसालाई निरन्तरता दिन र नियमित सञ्चालन गर्नका लागि आधुनिक पंखा,घन,पिलास,रेत,लगायतका सामाग्री अनुदानमा उपलब्ध गराइएको वडाध्यक्ष चन्द्रमान बुढाले बताए ।

उनले भने,“जर्मीगाउँ एकमात्र आरन चलाउने व्यक्ति विरभद्र हुन् । आयस्तरका हिसाबले निकै कमजोर रहेका उनले वडामा सामाग्री सहयोग गर्न निवेदन दिएका थिए । सोहीअनुसार वडाले सामाग्री सहयोग गरेका छौ । यसले आरन पेसाको संरक्षण तथा सम्बन्धीत व्यक्तिको आयआर्जन बृद्धिमा टेवा पुग्ने विश्वास छ ।”

वडाका एकमात्र आरन चलाउने भएकोले निवेदनका आधारमा ६ हजारबढीको सामाग्री उपलब्ध गराइएको २ नम्बर वडाका वडा सचिव तेज बहादुर रावतले बताए । लोपउन्मुख आरन लगायतका पेशालाई जोगाउन स्थानीय सरकारले लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस