जुम्ला : सिंजा क्षेत्रमा घाम लागेमात्रै टेलिफोनको नटवर्क आउने गरेको छ । यो क्षेत्रमा झण्डै एक दर्जन जति टेलिफोनका टावर रहेका छन् ।
टेलिफोनका टावर भएपनि घाम लागेको समयमा मात्रै नेटवर्क आउने गरेका छ । घाम गएपछि र आकाशमा बादल भएपछि सवैका हात हातमा स्मार्ट मोवाइल सेट भएपनि नेटवर्क हुदैन । जसका कारण खबर आदान प्रदान नै हुन सकेको छैन । यो क्षेत्रका टावर सवै बैकल्पिक उर्जा सोलार प्रणालीबाट सञ्चालित छन् । दुई वर्षदेखि सोलारका व्याट्री फेरिएका छैनन् । सवै सोलार व्याट्री डाउन भइसकेकाले घाम लागे मात्रै नेटवर्क आउने गरेको हो ।
सिंजा क्षेत्रमा तीन गाउँपालिका रहेका छन् । हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका नागरिक हरेक दिन झण्डै १२ घण्टा सञ्चार सेवाबाट बञ्चित हुने गरेका छन् ।
कनकासुन्दरीमा १३ हजार ६२५ जना, सिंजामा १२ हजार ५५६ जना र हिमा गाउँपालिकामा १२ हजार १९१ जना जनसंख्या सञ्चार सेवाबाट बञ्चित हुने गरेका छन् । अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पु¥याउन मान्छे नै दगुराउनुपर्ने अवस्था छ । घर नजिक टावर ठड्याएको वर्षौँ हुँदा पनि आफूहरू सञ्चारको पहुँचबाट वञ्चित हुनुपरेको गौकलाको गुनासो छ । ‘अहिले पनि हामीले देश २१ औँ शताब्दीमा पुगेको अनुभूति गर्न पाएका छैनौँ । खबर आदान–प्रदानमा उस्तै कठिनाइ छ,’ सिंजा गाउँपालिका – ३ का पुर्व वडाध्यक्ष लिताचन्द्र चौलागाईले भने, ‘अकस्मात् कोही बिरामी हुँदा एम्बुलेन्सलाई खबर गर्नसमेत नसक्ने अवस्था भोग्दै आएका छौँ ।’

राज्य पुनर्संरचनापछि गाउँमा ‘सिंहदरबार’ पुगे पनि अत्यावश्यक टेलिफोन, इन्टरनेटजस्ता पूर्वाधारको सहज पहुँच नहुँदा नागरिकको दैनिकी उस्तै रहेकोमा उनले असन्तुष्टि पोखे । उनले भने सिंजा क्षेत्रमा विजुलीको राष्ट्रिय प्रशारण लाइन पुगेको छ । तर अग्ला डाँडामा राखिएका टेलिफोनका टावरसम्म प्रशारण लाइन पुगेको छैन ।
टेलिकमको आन्तरिक समस्या जे भए पनि नागरिकले चुस्त रूपमा प्रभावकारी सेवा पाउनुपर्ने हो । नेपाल टेलिकमको साबिक कर्णाली अञ्चल कार्यालय जुम्लामा छ । जुम्लाबाटै मुगु, डोल्पा र हुम्ला जिल्ला हेरिन्छ । डोल्पाका लागि जुम्लाको चिमारा मालिका लेकमा रिपिटर टावर जडान गरिएको छ । मुगुका लागि डाँफे लेक हुँदै मुगु र हुम्ला पनि यहीँबाट लिंक लाइन गएको छ । यति धेरै कार्यक्षेत्र र काम भए पनि जुम्लामा भने टेलिकम शाखाको कमजोरी रहेको छ । हिमाली क्षेत्रमा रहेका कुल जनसंख्याको ९५ प्रतिशत नागरिकले नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गरे पनि सेवाको गुणस्तरीयतामा भने ध्यान दिइएको पाइँदैन ।
नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सुर्य यादबका अनुसार यो समस्याका विषयमा जानकारी भएका छैन । सिंजाको नराकोटमा नेटवर्क समस्या नहुनु पर्ने हो । टावरमा स्थानीय साना जलविद्युत आयोजनाको लाइन लगिएको छ । यस विषयमा थप बुझेर समस्या आएको भए तुरुन्त समाधान गर्ने छौँ ।



