थलाले टावर सञ्चालनसंगै दुर्गम भेरीखोला संचार पहुँचमा


जुम्ला । तातोपानी गाउँपालिकाको दुर्गम क्षेत्र वडा नं. ७ र ८ का दर्जनौ बस्ती संचारको पहुँचमा पुगेका छन् । वडा नं. ८ स्थित थलाले टावर सञ्चालनमा आएसंगै दुर्गम भेरीखोला संचार सेवाको पहुँचमा पुगेको हो ।

वर्षौदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएको हो । आधारभुत सेवा भित्र पर्ने संचार सेवाबाट वर्षौदेखि बन्चित हुदैँ आएको भेरीखोला क्षेत्रका नागरिक थलाले टावर सञ्चालनमा आएसंगै उत्साहित भएका छन् ।

आजको सूचना र प्रविधिको समयमा पनि भेरीखोलाका बासिन्दा टावर नहुँदा आफन्त संग सूचना आदान प्रदान गर्नबाटै बन्चित थिए । संघ प्रदेशका सांसद देखि स्थानीय सरकार संग सधै संचार सेवा विस्तारकै माग समेत गर्दै आएका थिए ।


ढिलै भएपनि थलालेमा रहेको नेपाल टेलिकमको टावर संचालन आएसंगै सम्पुर्ण भेरीखोला क्षेत्र संचार सेवाको पहुँचका पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । वर्षौदेखि अलपत्र रहेको थलाले टावर सचालनका लागि पालिकाले निन्तर ताकेता गरिरहेको थियो ।

उनले भने,“ठेकेदारले हाम्रो ताकेता र भेरीखोला बासीको समस्यालाई बुझ्दै टावर निर्माणलाई पुर्णता दिएर संचार सेवा सुरु भएको हो । यसलाई पालिका एक उपलब्धीका रुपमा लिएका छौ । अब बैंक संग समन्वय गरी भेरीखोलामै बैंक स्थापना गर्ने विषयमा पहल थाल्ने छौ । त्यसपछि त्यहाँका जेष्ठनागरिकलाई भत्ता बुझ्न पालिका आउने झन्झट पनि अन्त्य हुने छ ।”

थलाले टावर संचालन तथा र भेरीखोला क्षेत्रलाई संचार पहुँचमा पुराउन विशेष गरी संचार मन्त्री रेखा शर्मा,प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र बहादुर शाही,छिरिङ लामा,प्रदेश सांसद देवेन्द्र बहादुर शाही र स्वम पालिका अध्यक्ष चौलागाँई नियमित खटिएका थिए ।

तातोपानी ७ नम्बर वडाध्यक्ष तिलक रावतले ढिलै भएपनि भेरीखोलाका नागरिकले संचार सेवाको पहुँचमा पुगेको बताए । उनका अनुसार भेरीखोला क्षेत्रका दर्जनौ गाउँका हजारौ नागरिक संचार सेवा सुरु भएपछि उत्साहित छन् ।

साथै दुर्गम भेरीखोला क्षेत्रलाई संचारको पहुँचमा पुराउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण निकाय तथा व्यक्तिलाई तातोपानी गाउँपालिकाले बधाई तथा धन्यबाद समेत ज्ञापन गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

उनका अनुसार भेरीखोलाबासीका लागि मात्र नभई दुर्गम क्षेत्रका नागरिकले संचार नहुदा भोग्नु परेको सास्तीबाट मुक्ति पाउनु पालिकाकै खुसी कुरा हो । तातोपानी गाउँपालिकाले नागरिकका माग र आबश्यकतालाई पहिचान गर्दै विकास तथा सेवा प्रवाहका कामलाई जोड दिदै आएको छ ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस