जुम्ला : जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको मुकाम डिल्लीचौर लासीआसपास गाउँबाहेक धेरैजसो गाउँ सञ्चारविहीन छन् । यसमध्ये एक हो गढीगाउँ ।
पातारासी गाउँपालिका– १ गढीगाउँ सदियौँदेखि सञ्चारविहीन छ । अहिलेको समयमा पनि यहाँका नागरिक पुरानै प्रणालीअनुसार खबर आदान–प्रदान गर्दै आएका छन् ।
खबर आदान–प्रदान गर्न रैबार पठाउने, मान्छेमार्फत खबर गर्ने गरिन्छ। अढाई सय घरधुरी रहेको गढीगाउँमा एक हजार चार सय ५८ जनसंख्या छ ।
वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर लासी गएर गर्नु परेको छ। उनले भने, ‘यो गाउँमा आएपछि मान्छे हराएको महसुस हुन्छ । टेलिफोन सेवा नहुँदा को कता गयो ? के भइरहेको छ ? कुनै जानकारी पनि नहुने अवस्था छ । यहाँ कोही बिरामी हुँदा निकै समस्या हुन्छ । खबर आदान–प्रदान हुँदैन । समयमा स्वास्थ्य संस्था लैजाने साधन मिल्दैन।’
वडाध्यक्ष लालसिंह ऐडीले तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणधीन अवस्थामा रहेको बताए। त्यो टावर बनेपछि यो गाउँमा पनि टेलिफोनले काम गर्ने अपेक्षा गरिएको छ ।



