जुम्ला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरबृद्धिका लागि आगामी बजेटमा विशेष प्रथामिकता दिने बताएका छन् । बालुवाटारमा सोमबार आयोजित प्रतिष्ठानको नवौ सिनेट बैठकलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णाली सहित पश्चिम नेपालकै स्वास्थ्य भरोसा केन्द्रका रुपमा रहेको प्रतिष्ठानको विकास विस्तारका लागि बजेटमा विशेष प्रथामिकता दिने बताएका हुन् ।
उनले भने,“विश्व महामारीका रुपमा फैलिएको कोभिडले मुलुकको अर्थतन्त्रमा परेको प्रभावसंगै कर्णाली प्रतिष्ठान त्यसको असरबाट प्रभावित भयो । तर पनि स्रोत अभावका बीच प्रतिष्ठानले कोरोना रोकथाम तथा उपचारमा उल्लेखीय भुमिका निर्वाह गर्यो । स्थापनाको छोटो समयमै प्रतिष्ठानले आफ्नो औचित्य पनि पुष्टी गर्दै छ । त्यसैले थप स्तरबृद्धि गर्नु सरकारको दायित्व हो । आगामी बजेटमा विशेष प्रथामिकता प्रतिष्ठानलाई दिईने छ ।”

प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच मात्रै बृद्धि गरेको छैन् । नागरिकमा उपचार गराउने बानी विकास भएको छ । विरामी पढाउने कर्णालीले डाक्टर उत्पादन गरी रहेको छ । यो मुलुककै गौरबको विषय हो । प्रतिष्ठानको संरक्षण र विस्तारका लागि बजेट अभाव हुन नदिन आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने,“आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास लिएको छु । प्रतिष्ठानले विपन्नलाई सेवा मात्र नदिई दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ । प्रतिष्ठानबाट कर्णाली लगायत अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन हुनु खुसीक कुरा हो । देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले निर्वाह गरेको भुमिका प्रसंशायोग्य छ ।”
पछिल्ला वर्षहरूमा प्रतिष्ठानले सेवा प्रवाह,अध्यापन तथा अनुसन्धानका क्षेत्रमा गरेको उल्लेखीय काम र बजेट अभावले भोग्नु परेका समस्यालाई मध्यनजर गर्दै प्रतिष्ठानको विकासमा बजेटको अभाव हुन नदिने समेत आश्वासन दिएका छन् । साथै प्रतिष्ठानले अन्बेषण तथा औषधी उत्पादनको कामलाई समेत अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।



