कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियाेगिता जुम्लामा हुने

जुम्ला – कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिता जुम्लामा आयाेजना हुने भएकाे छ । दशौं राष्ट्रिय खेलकुद प्रतियाेगिताको तयारी स्वरुप प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा फागुन १५ गतेदेखि सुरु हुने भएको हाे । जुम्लामा पहिलाे पटक आयोजना हुन थालेकाे प्रदेश स्तरीय फुटबल प्रतियोगिता फागुन १९ गते सम्पन्न हुनेछ ।


कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको समन्वय र जुम्ला जिल्ला फुटबल संघको आयाेजनामा प्रदेश स्तरीय फुटबल प्रतियाेगिता हुने भएकाे एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले बताए ।


वि.सं. २०८१ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियाेगिताका लागि  प्रदेश स्तरको टिम छनोट हुनेछ ।  फागुन २४ – ३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछ । 
प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागिता रहने  आयोजकले जनाएको छ । जिल्ला फुटबल संघ जुम्लाले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको महासचिव दिपेन्द्र विक्रम हमाले बताए । उनले भने फागुन ११ गते बेलुका ४ बजेसम्म टिम दर्ता गरि सक्नु पर्ने छ ।

टिम दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटर प्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावली सहितको पत्र संघको इमेलमा पठाउनु पर्ने महासचिव हमालकाे भनाई छ ।
प्रतियोगितामा सहभागी टिममा १५ खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरि १७ जना हुनुपर्ने छ । यस्तै, प्रतियोगिता सुरु भएदेखी आफ्नो टिमको खेल सकिदा सम्म प्रत्येक टिमका खेलाडीले जनही रु एक हजार भत्ता पाउने व्यवस्था पनि रहेकाे छ ।
रेफ्री तालिम पनि जुम्लामै
जुम्लामै फागुन १०-१४ गतेसम्म प्रदेश स्तरीय रेफ्री तालिम पनि हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिम समेत आयोजना गरिएको संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए । 
तालिमको लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल संघले सिफारिस गरि फागुन ६ गतेसम्म पत्र पठाई सक्नुपर्ने छ । 

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस