सिंजा गाउँपालिका –६ भाडगाउँस्थित दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको नाममा स्थानीयले निशुल्क जग्गा किर्ताकार्ड गरेका छन् । पहिलो चरणमा १७ हजार १६५ वर्गमिटर क्षेत्रफल भएको जग्गा स्थानीयले शिक्षालयको नाममा किर्ताकार्ड गरेको हुन् ।
गाउँपालिकाको लगातार प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्थानीयबासीले निशुल्क आवश्यक जग्गा प्रदान गरेका हुन् । जग्गा प्राप्तिपछि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ ।
यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरले सिंजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले बताए । उनले भने, ’सोही अनुसार प्राविधिक शिक्षालयको जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको थियो ।’

उनका अनुसार प्राविधिक शिक्षाले मान्छेलाई काम गरि खाने बनाउँछ । रोजगारी समेत सृजना गर्ने प्राविधिक शिक्षा उत्पादनमुलक समेत हुन्छ । भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयका लागि बुधबार ओैपचारिक रुपमा जग्गा पास भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए । उनले भने आज हामी बहुप्राविधिक शिक्षालयको नाममा जग्गा लिन सफल भएका छौंँ ।
सिंजाको विकट बस्ती भाडगाउँमा स्थापना सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्दा विपन्नका छोराछोरीको प्राविधिक शिक्षामा सहज पहुँच हुने गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् ।
’लामो समयको प्रयासपछि सिंजा गाउँपालिकामा स्थापना हुने बहुप्राविधिक शिक्षालयको निम्ति जग्गा पास गराउन सफल भएका छौं,’ उनले भनिन्, ’हामी पहिला आंगिक शिक्षालय स्थापनाका लागि जग्गा पास गर्न पनि सफल भयौं ।’यसअघि बहुप्रविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियोे । समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने लगायत समस्या दर्साएपछि यो ठूलो उपलब्धि हासिल भएको पालिका अध्यक्ष धितालले बताए ।



