जुम्ला । नेपाल राष्ट्यि कर्मचारी संगठन (निजामती) जिल्ला कार्यसमिति जुम्लाले विरामीलाई फलफूल वितरण देखि सरसफाई गरेर आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ विरामीलाई फलफूल वितरण गरिएको छ । भने प्रतिष्ठानदेखि स्वास्थ्य कार्यालय सम्म सरसफाई गरिएको हो ।
प्रतिष्ठानमा उपचारथ ४९ जना विरामीलाई फलफूल वितरण गरिएको नेपाल राष्ट्यि कर्मचारी संगठन (निजामती) जिल्ला कार्यसमिति जुम्लाका कार्यबाहक अध्यक्ष विरेन्द्र रावलले बताए । उनले भने,‘औपचारिक कार्यक्रमका रुपमा मात्रै मनाउनु भन्दा केहि सामाजिक कार्य गरौ भन्ने सल्लाहनुसार फलफूल वितरण र सरसफाई गरेका हौ । आगामी दिनमा पनि संगठनले नागरिकको हित हुने खालका कार्यक्रमहरु गर्ने छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति जुम्लाका सचिव उत्तम देवकोटाले सधै जनतासंग घुलमिल हुने कर्मचारीहरुले आफ्नो दिवसमा पनि जनमैत्री काम गर्नु आबश्यक ठानेर सरसफाई तथा फलफूल बाडिएको बताए ।
फलफूल वितरण कार्यक्रममा संगठनका कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीको समेत सहभागिता थियो । उनले जनताकै करबाट कर्मचारीले तलब भत्ता उपभोग गरिरहेकोले जनताको सेवा प्रति सधै उत्तरदायी हुनु पर्ने बताए ।
आज कर्मचारीप्रति जनताको दृष्टिकोण गतिलो छैन। कर्मचारीले हुने काम पनि नहुने गरि जनतालाई दु:ख दिएको भनी आएका गुनाशा अस्वभाविक छैनन्,’ उनले भने, ‘बिगार्ने काममा नेताहरु पनि पछाडि छैनन्। तर बाहिर नेताहरु समेत कर्मचारीको आलोचना गर्ने हुनाले सेवा बाहेक अर्को उदेश्य बनाउनु हुँदैन।’
उनले अहिले कर्माचारीलाई आफ्नाे कार्यकर्ता बनाउन दलीय व्यवस्थाले कर्मचारीका संगठनलाई सरुवा बढुवा र राजनीतिमा मात्रै अलमल्याई सेवा गर्ने वातावरण नबनाएको बताए।
संगठनमा आबद्ध सबै कर्मचारीहरुको सहभागितामा संगठनले हालसम्म गरेका काम तथा आगामी गतिविधिबारे समेत समिक्षा गरिएको छ ।




