जुम्ला । चन्दननाथ नगरपालिकाको गत मंसिर २३ गते बसेको कार्यपालिका बैठकले स्वास्थ्यका १२ जना करार कर्मचारीलाई हटाउने निर्णय गर्यो । २० जना कार्यपालिका सदस्यमध्य १६ जनाको उपस्थितीमा सो निर्णय गरिएको थियो । स्वास्थ्य क्षेत्रकै स्थायी फाजिल कर्मचारी काम नगरी तलब खाने र आन्तरिक स्रोत घट्दै गएकोले करार १२ जना कर्मचारीलाई हटाउने बहुमत सदस्यले निर्णय पारित गरे । उक्त निर्णय प्रति हटाईएका कर्मचारी र उनका आफन्त असन्तुष्ट थिए ।
नगरपालिकाको आन्तरिक स्रोत घट्दै गएपछि फाजिल कर्मचारी हुँदा हुदैँ करारका कर्मचारी राख्न औचित्य नभएपछि कार्यपालिका बैठक बाट १२ जना करार कर्मचारी हटाउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने बताउँछन् ।

उनी भन्छन,‘नगरपालिका एक जना दरबन्दीका सहित ७६ जना करार कर्मचारी छन् । करार कर्मचारीको लागि वार्षिक अनुमानि साढे ३ करोड तलब भत्तामा जान्छ । जुन आन्तरिक स्रोतबाट मात्रै खुवाउनु पर्छ । नगरको आन्तरिक स्रोत कमजोर मुस्किलले १ करोड पनि राजश्व उठ्दैन् । स्रोत पनि घट्दै गएको र सोही क्षेत्रकै स्थायी फाजिल ११ कर्मचारी छन् उनीहरुलाई काम दिन सकिएको छैन् । त्यसैले स्वास्थ्यका १२ जना करार कर्मचारी हटाउने निर्णय कार्यपालिकाले गरेको हो ।’
चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले सुरुवाती स्वास्थ्यका कर्मचारीबाट गरिएपनि अन्य करार कर्मचारीहरु पनि हटाउदैँ जाने बताउँछन् । स्वास्थ्य क्षेत्रमा फाजिल कर्मचारी भएकोले सूरुवात त्यतै बाट भएको हो । उनले भने,‘हामी रोजगारी सृजना गर्न आएका हौ । तर स्रोत घट्दै जाने,स्थायी कर्मचारी काम नगरी तलब खाने । हामीसंग विकल्प नै भएन् । काम गराउने तलब नदिने त्यसो पनि गर्नु भएन् । स्रोत घटेपछि करार कर्मचारी हटाउन हामी बाध्य भयौ ।’
करार कर्मचारी हटाएपछि विवाद
माग २० गते नगपालिकाको नियमित कार्यपालिका बैठक बसीरहेको थियो । हटाईएका करार कर्मचारी सहित चन्दननाथ २ का वडासदस्य नगेन सेजुवाल लगायत अन्य कर्मचारीका आफन्त हलमा पसेपछि लफडा सुरु भयो । मंसिर २३ कै निर्णयबाट असन्तुष्ट हटाइएका कर्मचारी तथा आफन्तहरु आक्रोसित भएपछि विवाद भएको हो ।
चन्दननाथ नगरपालिका –२ का वडा अध्यक्षले आफुलाई कुटेको भन्दै सोहि वडा सदस्य नगेन सेजुवालले सामाजिक संजालमा लेखे । वडाध्यक्षले आफुलाई कुटेकाे सेजुवालकाे भनाई छ ।
विवाद भएको भिडियो सार्वजानिक भएपछि चन्दननाथ नगरपालिकाले आईतबार विज्ञप्ती सार्वजानिक गरेको छ ।
वडा सदस्य तथा नगरसभाका सदस्य सेजुवाल नेतृत्वमा कार्यालय हाताभित्र प्रवेश गरी नगर कार्यपालिकाको कुनै पनि विषयमा निर्णय हुन पुर्व नगर प्रमुख, नगर उपप्रमुख र कार्यलय प्रमुख लगायत कार्यपालिका सदस्य तथा कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गाली गलौज गर्ने भौतिक आक्रमणको धम्की दिने काम भएको भनि नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ ।

नगर कार्यपालिकाले गरेका निर्णयहरुमा चित्त नबुझेमा आपसी छलफल गर्ने, वार्ता गर्ने र त्यसबाट पनि आफ्ना माग पुरा नभए कानुनी उपचार खोज्ने व्यवस्था रहँदा रहँदै सांघातिक आक्रमणमा उत्रिनु गलत भएको नगरका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष नवराज देवकोटाले बताए ।
’करार सेवामा निरन्तरता नभएका कर्मचारीहरु र निजका आफन्तहरुले आगामी दिनमा समेत गर्न सक्ने अमानवीय कृयाकलाप प्रति सजग रहन सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई निर्देशनानुसार जानकारी गराइएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तिमा सार्वजनिक सन्जालमा गलत तरिकाले वडा नं २ का वडाध्यक्षले हातपात गरेको भन्ने झुट्टा प्रचार प्रसार भएका मिथ्या गलत कुरामा नलाग्न हुन समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
काममा फिर्ता नगरे तालाबन्दी गर्ने चेतावनी
मंसिर २३ गते चन्दननाथ नगरपालिकाको कार्यपालिकाले निर्णय गरेर हटाइएका कर्मचारीले पुनः काममा फर्काउन अल्टिमेटम दिएका छन् । आईतबार ज्ञापनपत्र बुझाउदैँ तत्काल काममा फिर्ता नगरे नगरपालिका तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले चौथो तहका अनमी अहेवको विज्ञापन गरी लिखिति मौखिक परीक्षा संचालन गरी मिति २०७७ माघ १ गतेबाट करार सम्झौता गरी कामकाज गर्दै आरहेकोमा हटाइएको प्रति गुनासो पोखेका छन् ।

हटाईएपछि नगरपालिकामा रहेका सबै करार कर्मचारीलाई हटाउनु पर्ने उनीहरुको माग छ । चालु आवको असार मसान्तसम्म करार कर्मचारीका लागि तलब भत्ताको बजेट समेत विनियोजन भईसकेकोले बीचमै हटाउन नमिल्ने उनीको दाबी छ ।
मंसिर २३ को निर्णयपछि बारम्बार ध्यानाकर्षण गराउँदा समेत अटेर गरेकोले आवश्यक छलफल गरी पुनः सेवामा प्रवेश गराउन हुन साथै अन्यथा भएमा भोलीदेखि नगरपालिकाको कार्यालयलाई तालाबन्दी गर्ने बताएका छन् ।



