सिंजाका २२ वर्षिय बिर्खलाई ‘ब्लड क्यान्सर’: आर्थिक अभावले उपचारमा सकस

जुम्ला । सिंजा गाउँपालिका वडा नं २ रनुखानाका बिर्ख विश्वकर्मा अहिले ब्लड क्यान्सर जस्तो घातक रोग संग लडिरहेका छन् । रगतमा खराबी आएपछि उपचार गराउँदा चितवन स्थित भरतपुर क्यान्सर अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको हो । केही समयदेखि नाक मुख र पिसावबाट रगत बग्ने समस्या देखिएको थियो ।

क्यान्सर पीडित बिर्ख विश्वकर्मा भन्छन्,‘एक वर्ष अघिदेखिनै मेरो नाक मुखबाट रगत पटक पटक बगिरहन्थ्यो र पिसाब बाट पनि रगत जान्थ्यो,मैले वास्तै गरेको थिएन । समस्या निकै बल्झीएपछि भरतपुर क्यान्सर अस्पतालमा जाँच गर्दा ब्लड क्यान्सर भएको पुष्टी भयो । करिब दुई सातादेखी भरतपुर भर्ना भएको छु । बाच्ने रहर हुँदा हुदैँ आर्थिक अभावले मृत्यु कुर्न बाध्य छु । मलाई यतिबेला सहयोगको खाँचो छ ।’

२२ वर्षको कलिलो उमेरमा घातक ब्लड क्यान्सर रोग संग लडिरहेका विर्खलाई सहयोगी हातको पर्खाइमा छन् । सानैमा बुबा आमा गुमाएका उनको आर्थिक रुपमा पारिवारिक अबस्था पनि निकै कमजोर रहेको छ । सबैको थोरै थोरै सहयोग पाएको खण्डमा नयाँ जीवन पाउने आशामा छन् ।

अस्पताल भर्ना भएका बिरामी बिर्ख अहिले आर्थिक जुगाड गर्न १० दिनसम्म अस्पतालबाट बाहिर आएर यता उता भौतरिरहका छन् । अस्पतालले उनलाई आर्थिक जुगाड गर्न १० दिनसम्मको औषधी दिएर पठाएको छ । यद्यपी उनी माघ २९ गते पुनःअस्पातालको बेडमै फर्कनुपर्ने हुन्छ ।

बेडमा फर्किएपनि आर्थिक नजुटेको खण्डमा उपचार अघि बढ्न सम्भव छैन् । पुनः रोग संग लड्नु र मरेतुल्य जीवन बाच्नुको उनीसंग विकल्प छैन् । यदपी यता भरपुरत क्यान्सर अस्पतालले उनलाई धेरै चिन्ता र तनाव नलिई करिब ६ महिनासम्म नियमित चेक जाँच र औषधी प्रयोग गरेर रिकभर हुने सक्ने आश्वासन दिएको छ ।

डाक्टरी भाषामा अहिले विर्खलाई ब्लड क्यान्सरको टू स्टेज मात्र भएको छ । टु स्टेज भन्दा माथि थ्री स्टेजसम्म पुगेपछि अप्रेशन गर्नै पर्ने हुन सक्छ । थ्रि स्टेज सम्म नपुग्न दिन कुनै पनि तनाव नलिन समेत डाक्टरले सुझाएका छन् ।

सानैमा बुबा–आमा गुमाएका बिर्ख विश्वकर्मा दिदी,भिनाको सहारामा हुर्किएका हुन । आफू करिब २ वर्षको हुँदा बुबा आमाले छाडेर गएको बिर्ख बताउँछन् । उनी भन्छन,‘के गर्नु निधारमा लेखेको कुरा भोग्नै पर्ने रहेछ । दुई बर्षको हुदा आमा बुबाको साथ खोसियो अहिले कति खेर सासले पनि साथ छोड्छ पत्तै छैन । ब्लड क्यान्सर जस्तो घातक रोग संग लड्न विबश छु ।’

बिर्ख विश्वकर्मा करिब १० वर्ष यता काठमाण्डौमा बस्दै आएका छन् । सानै देखि गायन क्षेत्रमा रुचि राख्ने उनी लोक गीतका सर्जक पनि हुन । १५ वर्षमै काठमाण्डौ छिरेका उनले अहिलेसम्म गीत गाउँदै आफ्नो जीवन धानिरहेका थिए ।

तर अहिले ब्लड क्यान्सर जस्तो रोग लागेपछि उनलाई आर्थिक जुटाउन सकस भैरहेको छ । उपचार गर्दा गर्दा आफु संग भएको सबै आर्थिक सकिएको र सहयोग जुटाउन सबैसंग चिनजान पनि राम्रो नभएकोले आफ्नो उपचारलाई अघि बढाउन सक्दो सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

सहयोग गर्न चाहनेहरुले बिरामीकै नबिल बैंकमा रहेको खाता नं ः ००४१००१७५२४२४५ रकम जम्मा गर्न सकिने छ । भने विरामीलाई प्रत्यक्ष सम्पर्क गर्न ९७६२७६७८२३ मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस