बजेट अभावले पातारासीको जडिबुटी प्रशोधन उद्योग बन्द

जुम्ला । २०७६ साल भदौ १४ गते जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीमा कर्णालीकै पहिलो प्रशोधन उद्योगका रुपमा ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन’उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । कर्णालीकै पहिलो जडिबुटि प्रशोधन उद्योगको कर्णाली प्रदेशका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उदघाटन गरेका थिए ।

उनले आर्थिक अभावमा उद्योग बन्द हुने स्थिती नआउने र कर्णालीका सबै जिल्लामा यस्तै प्रकृतिका मझौला उद्योग स्थापनामा जोड दिइने आश्वासन दिएका थिए । तर उद्योग सञ्चालन भएको एक वर्ष नबित्दै मेसिन विग्रीएर मर्मत गर्ने बजेट नहुँदा उद्योग तीन वर्षदेखि बन्द हुँदा समेत प्रदेश सरकारले सुक्को बजेट दिएको छैन् ।

जडिबुटि संकलन तथा जुडिबुटि व्यवसायमै निर्भर पातारासीका नागरिक उद्योग स्थापनापछि गाउँमै प्रशोधन हुने र राम्रो मुल्य पाईने भन्दै उत्साहित पनि भए । पटक पटक प्रशोधन उद्योग स्थापना हुनु पर्ने माग गर्दै आएका स्थानीयको मन्त्री सहित जिल्लाकै जम्बो टोली पुगेर उद्योग उद्घाटन गर्दा पातारासीको जडिबुटिले बजार र भाउ पाउने भन्दै स्थानीयको खुसीको सिमानै थिएन् ।

जडिबुटीको उचित बजारीकरण र प्रशोधन प्रर्बदन नहुँदा चोरी निकासी बढेको र संकलन गरेको जडिबुटी समेत कुहिने जस्ता समस्याबाट मुक्त भईने आशा गरेका थिए । तर करिब ३७ लाख लगानीमा स्थापना गरी सञ्चालन आएको एक वर्ष बित्न नपाउदैँ मेसिन विग्रीएपछि मर्मतमा आर्थिक अभाव भएपछि उद्योग बन्द भएको हो ।

पातारासी समृद्धीको प्रमुख आधार भनेकै जडिबुटि र जंगल हो । आफ्नै ठाउँमा प्रशोधन उद्योग नभएकै कारण जडिबुटीबाट अपेक्षित आर्थिक आम्दानी लिन नसकेको भन्दै स्थापना गरिएको उद्योग एकै वर्षमा बन्द हुँदा जडिबुटि किसानका समस्या ज्युँका त्युँ छन् ।

पातारासीका पाटन सहित कर्णालीमा पाईने बहुमुल्य (जटामसी, भोजपत्र,सुगन्धवाल, सुनपाती) लगायतको जडिबुटीको प्रशोधन गरी (तेल) निकाल्ने उदेश्य स्थापना गरिएको उद्योगमा हाल भोेटे ताल्चा लागेको छ । तत्कालीन मन्त्री बुढाले कर्णाली जल जमिन,जडिबुटी र जंगलमा धनी भएपनि उचित व्यवस्थापन प्रशोधन र बजारीकरणको अभावले कर्णाली गरिब हुँदै गएकोले साना उद्योग स्थापना कर्णालीको प्रथामिकतामा रहेको बताएका थिए ।

जडिबुटी उधोगको निरन्तरता,बृद्धि विकासका लागि प्रदेश सरकारले आबश्यक लगानी गर्ने प्रतिबदता पनि गरे । साना लगानीका उधोग स्थापनामा सरकारले जोड दिने भनिएपनि प्रदेश सरकार र स्थानीयतहको लापरबाहिकै कारण पातारासीको जडिबुटि प्रशोधन उद्योग बन्द भएको हो । मन्त्रीको आश्वासननुसार बजेट नआउँदा उद्योगमा ताला लागेको एक स्थानीय बताउँछन् ।

पातारासी २ तल्फीमा रहेको फुर्केसल्ला सामुदायिक वनको आम्दानी र हिमाली परियोजनाको ३७ लाखबढी लगानीमा उद्योग स्थापना गरिएको हो । जडिबुटी प्रशोधन उद्योग स्थापनाले, जुम्लामा मात्र नभई कर्णालीमै पाईने जडिबुटीको बजारीकरणमा कोशे ढुंगा सावित हुने आशा गरिएपनि उद्योग निरन्तरतका लागि प्रदेशले आबश्यक बजेट नदिँदा बन्द हुने अबस्थामा पुगेको हो । हिमाली परियोजना गुणस्तर मेसिन नआउँदा उद्योग सञ्चालनको एकवर्ष नहुँदै विग्रिएपछि उद्योग बन्द भएको स्थानीय बताउँछन् ।

जडिबुटीको संकलन, बजारीकरण, औधोगिकरणका लागि तिनै तहका सरकारको ठोस नीति नबनाँदा समेत त्यसको असर सञ्चालन गरिएका उद्योगमा परेको छ । उद्घाटनका बखत छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योगले जटामसिको तेल उत्पादन गरिरहेको थियो । उधोगमा विशेषगरी जटामसि चालिसपत्रे, सुनपाति, देवदयार, सुनपाती लगायत जडिबुटीको तेल उत्पादन हुने बताइएको थियो । प्रति लिटर तेल कम्तीमा ५० हजार रुपैयामा विक्री हुने गरेको छ । तर अहिले उद्योगनै बन्द भएपछि कौडीको भाउमा जडिबुटिनिर्यात भईरहेको छ ।

मेसिन मर्मतको बजेट नहुँदा उद्योग बन्द
हाल पातारासी गाउँपालिका जुम्लाका अध्यक्ष पुर्णसिंह बोहोरा तल्फीमा रहेको छन्चरी हाल्ना जडिबुटि प्रशोधन उद्योगका पनि अध्यक्ष हुन् । तत्कालीन फुर्केसल्ला सामुदायिक वनका अध्यक्ष समेत रहेका बोहोराकै नेतृत्वमा उद्योग स्थापना भएको थियो । तर हाल पालिका अध्यक्षमा निर्वाचित भएको दुई वर्ष पुग्न लागिसक्दा पनि उद्योग सञ्चालनमा उनको कुनै चासो छैन् ।

तत्कालीन हिमाली परियोजनाको सहयोगमा सहयोगमा प्राप्त मेसिन पटक पटक विग्रीन थालेपछि उद्योग बन्द भएको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए । त्यतिबेला अलि ठुलो मेसिन नेपालगन्ज लिएर,सानो मेसिन जुम्लालाई दिए । त्यो पनि गुणस्तर रहेनछ ।

उनले भने,‘उद्योगमा एकजना अपरेटर पनि राखेका थियौ । पटक पटक मेसिन विग्रिन थालेपछि मर्मत गर्नै समस्या भयो । प्रयाप्त बजेट दिन्छौ भनेका मन्त्रीदेखि सांसदले प्रदेशबाट सुक्को बजेट पठाएनन् । सहयोग माग्दा पनि दिएनन् । केहि समय उद्योग बन्द हुँदा किसानले जडिबुटि बाहिर पठाउन थाले । मेसिन मर्मत गर्ने बजेटनै नहुँदा उद्योग बन्द हुन पुगेको हो । अब हामी चाडै उद्योगलाई सञ्चालनमा ल्याउने तयारीमा छौ ।’

जिल्लामा मर्मत गर्ने वर्कसप नभएको र साना साना पाटपुर्जाहरु बेला बेला विग्रिने र मर्मत गर्न नेपालगन्ज बुटवल लिनुपर्ने भएपछि आम्दानी भन्दा खर्च बढी हुन थाल्यो । त्यसैले उद्योग बन्द हुने स्थितीमा पुगेको अध्यक्ष बोहोराको भनाई छ ।
उद्योग संचालनका लागि बजेट जुटाउन संघदेखि प्रदेशसम्म धाईरहेको छु । उनले थपे,‘बजेट कतैबाट जुट्दैन् । पालिकाबाट छुटाउने स्थिती पनि छैन् । सामुदायिक वनमा बेथिती पनि उस्तै मौलाएको छ । उद्योगलाई निरन्तरता दिन बजेटकै अभाव छ ।’

फुर्केसल्ला सामुदायिक वन र हिमाली परियोजनाको सहयोगमा ३७ लाख बराबरको लागतमा उधोग स्थापना भएको थियो । फुर्केसल्ला सामुदायिक वनको लगानीमा सञ्चालित उद्योग बन्द भएपछि पुन उद्योग सञ्चालन गर्न सामुदायिक वनको आम्दानीलाई एकद्धार प्रणालीमा ल्याउन अभियान थालिएको अध्यक्ष बोहोराले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस