जुम्ला । जुम्ला-एयरपोर्ट-उर्थुखाली-न्याउरीघाट-भुलभुले सडक निर्माणलाई गतिदिन पातारासी गाउँपालिकाका स्थानीयले दबाब दिएका छन् । जुम्ला(भुलभुले हुदैँ मुगुको रारा ताल जोड्ने छोटो पर्यटकिय मार्गको रुपमा रहेको उक्त सडकको निर्माण कार्यलाई गतिदिन स्थानीयले पूर्वाधार विकास कार्यालय जुम्लाको ध्यानर्कषण गराएका हुन ।
३९ किमी दुरी रहेको जुम्ला-एयरपोर्ट-उर्थुखाली-न्याउरीघाट-भुलभुले सडकबाट रारा ताल पुग्न जुम्लामा जाँदा नाग्म( गमगडी सडकको भन्दा तीन घण्टा छिटो पुगिन्छ । तर उक्त सडक निर्माणको नाममा ढिलाई भएको गुनासो आएको छ ।
ठेक्का आह्वान भईसकेको सडकको निर्माण कार्यमा ढिलासुस्ती भएको,लुम पक्की पुल निर्माणको स्रोत सुनिश्चत हुँदा पनि ठेक्का खोल्न ढिलाइ भएको भन्दै स्थानीय भक्त बहादुर बुढाको नेतृत्वमा स्थानीयले कार्यालयको ध्यानर्कषण गराएका हुन् ।
संघियतापछि जुम्ला-भुलभुले सडक खण्ड निर्माणका लागि प्रदेशबाट ३५ करोड विनियोजित भई निर्माण कार्यको थालनी भएको थियो । स्थानीय भक्त बहादुर भन्छन,‘उक्त सडक निर्माणका लागि २र३ बर्ष पहिले टेन्डर भएको बजेट कार्यान्वयन हुन सकेको छैन् । पातारासी ६ र ७ र कनकासुन्दरीको न्याउरीघाट लगायतका स्थानमा १३ वटा कल्बट निर्माण गर्ने स्टमेट भएपनि निर्माण भएका छैनन् । अन्य क्षेत्रमा पनि त्यस्तै अस्तव्यस्त छ । त्यसैले निर्माण कार्यलाई अघि बढाउन ध्यानर्कषण गरेका हौ । अब काम छिटो हुने आशा छ ।’
कार्यालयको होकी,ठेकेदारको कमजोरीले जुम्ला-भुलभुले सडकको कल्बट निर्माण तथा अन्य काम अलपत्र परेको पातारासीका स्थानीय राम बोहोराको गुनासो छ । निर्माणको जिम्मा लिएको क्याप निर्माण सेवालाई ताकेता गरी काम अघि बढाउन तथा लुमपुल निर्माणको ठेक्का खोल्न समेत स्थानीयले माग गरेका छन् ।
सडक पुल निर्माण कार्यालयको प्रथामिकतामा
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम देवकोटाले जुम्ला-भुलभुले सडक निर्माण विशेष प्रथामिकतामा रहेको बताए । उक्त सडक खण्डको निर्माणको जिम्मा क्याब निर्माण सेवाले पाएको छ । प्रमुख देवकोटाले भने,’निर्माणलाई गति दिन कार्यालयले ठेकेदारलाई ताकेता दिईरहेको छ । तर चिसो बढेकोले सिमेन्टको काम रोकिएको हो । तातो हुने बित्तिकै निर्माण कार्य सुरु हुन्छ ।’
स्थानीयले भनेजस्तो सबै काम ठप्प नभएको र भुलभुले क्षेत्रमा निरन्तर काम भईरहेको प्रमुख देवकोटाको भनाई छ । चिसोमा सिमेन्टको काम नहुने भएकोले हिमाली जिल्लाका सबै विकास निर्माण आयोजना प्रभावित हुन्छन् । पुस र माघ महिनामा प्रायःविकास आयोजना ठप्पनै हुन्छ ।

तर जुम्ला-भुलभुले सडक खण्डमा सिमेन्ट प्रयोग गर्ने बाहेक,ग्यामिन पर्खाल निर्माण,ग्यामिन गर्ने काम निरन्तर भईरहेको पूर्वाधार कार्यालयको दाबी छ । यसैबीच तीन वर्षको बहुवर्षिय योजनाका रुपमा स्रोत सुनिश्चित भई सकेकोले लुम पक्की पुल निर्माणको प्रक्रिया अघि बढ्ने प्रमुख देवकोटाले जानकारी दिए ।
चालु आवमा एक करोड ८० लाख विनियोजन भएपनि बहुवर्षिय योजनाको रुपमा स्रोत सुनिश्चित नभएसम्म ठेक्का खोल्न नमिल्ने भएकोले रोकिएको थियो । ‘हामीले प्रदेशमा स्रोत सुनिश्चिताका लागि फाईल पठाएका थियौ । निरन्तरको प्रयासपछि प्रदेशबाट तीन वर्षे बहुवर्षिय योजनाको स्रोत सुनिश्चिताको स्वीकृत भएको छ । अब चाडै पुल निर्माणको प्रक्रिया अघि बढेछ ।’
साथै पूर्वाधार कार्यालयका सूचना अधिकारी टेक हितानले जुम्ला-भुलभुले सडकको चार वटा प्याकेज मध्य तीन प्याकेजको काम सकि सकेको बताए । उनले भने,‘एयरपोर्टदेखि उर्थुकोबीचमा कोटा भिरको स्तरबृद्धिको काम भईसकेको छ । ठेक्काको समयावधि २०८२ सम्म हो । रारा जाने पर्यटकिय मार्ग भएकोले पनि काम प्रथामिकताका साथ निरन्तर भईरहेको छ ।’
चालू आवमा पुल निर्माणमा लागि एक करोड ८० लाख लागि विनियोजित भएको छ । तीन वर्षे बहुवर्षिय पुल निर्माणका लागि करिब ७ करोड लाग्ने अनुमान छ । स्रोत सुनिश्चितासंगै लुममा पक्की पुल निर्माणको बाटो खुलेको पूर्वाधार कार्यालयका सूचना जुम्लाले जानकारी दिएको छ ।



