जुम्ला । तातोपानी गाउँपालिका वडा नं. २ जर्मी गाउँमा रहेको ‘तातोपानी धारा’ पर्यटकको रोजाईमा परेको छ । कर्णाली राजमार्गको आडमै रहेकोले पनि जुम्ला आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा तातोपानी धारा परेको हो ।
धारामा स्नान गर्न,अवलोकन गर्न,दैनिक एकसयदेखि डेढसय आन्तरिक पर्यटक तातोपानी पुग्ने गरेका छन् ।
जुम्लामा आउने सबै पर्यटक तातोपानी पुगेर मात्र फर्किने गर्छन् । जुम्लाका उत्कृष्ट पर्यटन गन्तव्यमध्य तातोपानी धारा पनि एक हो । छेउमा कलकल बग्ने तिला नदी,पारी मार्सी फल्ने फाँट,माथि कर्णाली राजमार्ग,अर्गानिक खाना पाईने होटल भएकोले पनि तातोपानीमा पर्यटकको आर्कषण बढ्दो छ ।
विगतको तुलनामा धाराको केहि हतसम्म व्यवस्थापन हुदैँ गएपनि लगानी अपेक्षाकृत रुपमा नुसारको व्यवस्थापन हुन सकेको छैन् । खानेपानी,शौचालय सरसफाई,खटिएका कर्मचारीले पर्यटकहरु संग देखाउने शिष्टता जस्ता कुराको व्यवस्थापन अझै सन्तोषजनक रुपमा हुन सकेको छैन् । केहि समय अघि कपडा राख्न बनाईएका लकरहरु पनि पुर्ण प्रयोगमा छैनन् ।
नुहाउदैँ गर्दा कपडा धुने समस्याबाट पर्यटक आजित छन् । भने नुहाई सकेपछि फ्रेस मुडमा फोटो खिच्न इच्छा राख्छन् । तर तातोपानी धारा क्षेत्रमा फोटो सेसन गर्न छुट्ै कुनै चिटिक्क स्थान पनि छैन् । धेरैले तातोपानीको विशेषता कतै लेखिएको ठाउँमा हेर्न पढ्न चाहान्छन् । त्यो छैन् । स्थानीय बासीलेपनि तातोपानीको महत्व दिर्घकालीन सोचका साथ पर्यटक संग राम्रो व्यवहार,घर आँगन सफा सुगर राख्ने कुरामा समेत ध्यान दिएको पाईन्न् । तातोपानी आसपास क्षेत्रको फोहोर व्यवस्थापन पनि उस्तै चुनौती पुर्ण छ ।
भने गठित बजार व्यवस्थापन समिति पनि काम विहिन छ । यी तमाम समस्या र चुनौतीका बीच तातोपानी धाराको प्रर्बद्धनका लागि पालिकाले माटो रकम खर्चिदै विगतको भन्दा सुधारउन्मुख अबस्थामा ल्याएको छ । विगतमा समितिले,त्यसपछि महिलाले हुदैँ हाल वडा पालिका मातहत तातोपानी धारा सञ्चालित छ । दुई जना कर्मचारी पनि राखिएको छ । तर अपेक्षित सुधार व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो उस्तै छ ।
वडाले संचालन पश्चात डिजिटल बोर्ड राख्ने,नियमित सरसफाई गर्ने,सिसि क्यामरा जडानको पहल,धारा, शौचालयको व्यवस्थापनको काम गरेको छ । तर तातोपानी धाराबाट उठ्ने राजश्वको सहि व्यवस्थापन गर्न खाता सम्म खोलिएको छैन् । यसले सुशासन र आर्थिक पारदर्शितामा ठुलो प्रश्न उठाईरहेको छ ।
यदपी, वडाले जिम्मा लिएदेखि उठेको ८ लाख डिजिटल बोर्ड,कर्मचारी तलब,फोहोर फाल्ने डस्टविन लगायतका क्षेत्रमा खर्च भएको बुझिएको छ । पालिका र वडाबीच केहि विषयको समझदारी नहुँदा खाता खोल्न ढिलाई भएको पाइएको छ । तातोपानीको प्रर्बद्धनका लागि व्यवस्थापन पक्षमा सबै सरोकारवाला पक्ष गम्भीर भएर लाग्न जरुरी छ ।
कर्णाली राजमार्ग भएर मुगुको रारा ताल,सिंजा उपत्यका हुदैँ भुलभुले सडक भएर जुम्ला पुग्ने पर्यटक तातोपानी पुगेर स्नान गरी फर्किने गरेको तातोपानी गाउँपालिका वडा नंं.२ का अध्यक्ष चन्द्रमान बुढाले बताए । उनले भने,‘कर्णालीका सडक हिउँद वर्खै हिलाम्य,धुलाम्य हुने भएकोले तातोपानी पुगेर फ्रेस भएर फर्किने पुर्वतयारीनुसार पर्यटक आउने गरेका छन् । पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण जोड दिएका छौ । यदपी,अपेक्षाकृत व्यवस्थापन हुन सकेको छैन् ।’

बारुद जस्तो गन्ध आउने तातोपानी धारामा नुहाउँदा बाथरोग,नसा रोग,हाडजोर्नी सम्बन्धी समस्या,जिउँ दुखेको निको हुने भएकोले टाढाबाट तातोपानीमा पुग्ने गरेका छन् । उक्त पानी पिउँदा पाचन प्रक्रिया समेत राम्रो हुने जनविश्वास छ ।
तातोपानीमा दैनिक एक सयदेखि डेढसम्म पर्यटक आउँछन् । भने पुष माघको समयमा यो संख्या बढ्छ ।
भने शनिवारको दिन नुहाउने पालो पाउनै मुस्किल हुने गर्छ । तातोपानी धारा,गिडिदह,पहिलो मार्सीखेती भएको गुरु फाक्टो लगायतका पर्यटन गन्तव्य तातोपानी गाउँपालिकामै भएपनि उचित लगानी र प्रचार प्रशार नहुँदा आझेलमा परेका छन् । पालिका समृद्धीका आधार बनेका पर्यटन क्षेत्र लगानी कुरिरहेका छन् ।
तातोपानी पर्यटन क्षेत्रको विकास र प्रर्बद्धनका लागि पालिकाले कार्यविधिनै निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । तर कार्यविधिको अनुसार पर्यटकबाट शुल्क उठाउने गरेपनि व्यवस्थापन भने सन्तोषजन रुपमा हुन सकेको छैन् ।
तातोपानी धारा व्यवस्थापन तथा संचालन कार्यविधि २०७९ को अनुसूचि १ को दफा (७) अनुसार सम्बन्धीत वडाका नागरिकलाई प्रतिव्यक्ति १० रुपैया,पालिका भित्रका अन्य वडाबासीलाई प्रतिव्यक्ति ३०,जिल्ला भित्रकालाई ४० रुपैया शुल्क तोकिएको छ । त्यस्तै जिल्ला बाहिरकालाई ५० र विदेशी पर्यटकलाई भने प्रतिव्यक्ति एक सय रुपैया शुल्क निर्धारण गरिएको छ ।
सरसफाई गर्ने,टिकट काट्ने दुई जना कर्मचारी समेत राखिएको छ । वडाध्यक्ष चन्द्रमान बुढा तातोपानी धाराको आम्दानी धाराकै व्यवस्थापनमा लगानी गर्दै आएको बताउँछन् । वडाले जिम्मेवारी लिईसकेपछि डिजिटल बोर्ड राख्ने,शौचालय,धारा व्यवस्थापनको काम भएको छ । सिसि क्यामरा हाल्ने तयारी छ ।
यदपी,अहिले सम्म तातोपानी धाराबाट संकलित रुपैया जम्मा गर्न आधिकारिक बैंक खाता खोलिएको छैन् । शान्ति सुरक्षाको विषय निकै चुनौती पुर्ण बन्दै गएको छ । सुशासन र आर्थिक पारदर्शिता माथि प्रश्न उठ्दै जाँदा दैनिक सयौ पर्यटक तान्दै गरेको तातोपानीले व्यवस्थामा त्यो भन्दा बढी चुनौती रहेको स्पष्ट हुन्छ ।
हाल सम्म भएका लगानी र उपलब्धीको समिक्षा,व्यवस्थापनका कमजोरी र आगामी दिनको योजनाका विषयमा सर्वपक्षिय छलफल गरी तातोपानीलाई जिल्लाकै नमुना पर्यटन गन्तव्य बनाउन सबैको ध्यान जान जरुरी छ ।



