जुम्ला – तिला गाउँपालिका – ७ तुहीगाउँकी २४ वर्षीया रमीता रावत घरेलु हिंसा पीडित महिला हुन् । सोही गाउँपालिका – ९ राँसा गाउँ माइती घर भएकी रमिताले कलिलै उमेरमा तुहीगाउँका २७ वर्षीय गोपाल बुढासँग ०७४ सालमा प्रेम विवाह भई ०७५ कात्तिक १५ गते छोरा युवराज बुढाको जन्म भयो ।
घरेलु हिंसा पीडित रमीता ०७८ चैत मसान्तमा घरका सामान र छोरासमेतलाई घर निकाला भइन् । घर निकाला गरेदेखि छोरासहित राँसागाउँ माइती घरमै बस्दै आएकी रमीतालाई इन्सेकको सहजीकरणमा न्यायलयमा पुगेकी रमीताले सम्वन्ध विच्छेद उजुरी जिल्ला अदालत जुम्लामा ०७९ जेठ ३१ गते दर्ता गरिन् । सम्वन्ध विच्छेद उजुरी अहिले न्यायलय अदालतमा कानुनी प्रक्रियामा रहेको रमीताले बताइन् ।
घरेलु हिंसा पीडित रमीता अहिले जीविकोपार्जन गर्नका लागि कपडा सिलाउने सिप सिकिरहेकी छन् । निकै कष्टकर जीवन विताई रहेकी रमिता किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेको ४५ दिने सिलाईकटाई तालिममा कपडा सिलाउने सीप सिकिरहेकी छन् । अघिल्लो वर्ष दुई महिनाको तालिममा सामान्य तय कुर्ता सुरुवाल, बच्चा कपडा सिलाउन सिकेकी रमीताले अहिले सर्ट पाइन्ट सिलाउने सिप सिकिरहेकी छन् ।
सिलाईकटाईको दुई चरणको तालिमपछि तिला गाउँपालिका – ३ त्रिवेणी बजारमा व्यवसायिक रुपमा कपडा सिलाउने पसल सञ्चालन गर्ने योजना रहेको रमीताले बताए । उनले भनिन् यही व्यवसाय सञ्चालन गरेर एक छोरालाई पालनपोषण र पढाउने सोच बनाएकी छु ।

तिला गाउँपालिका – ७ पोख्री गाउँकी २७ वर्षीया जौकली रोकाया अपांगता भएकी व्यक्ति हुन् । उनको बाँया आँखा दृष्टिविहीन छ । दुई छोराकी आमा जौकली जीविकोपार्जन गर्नका लागि अहिले ४५ दिने कपडा सिलाउने सिलाईकटाई सिप सिकिरहेकी छन् ।
अघिल्लो वर्ष दुई महिना आधारभुत तालिम लिएकी जौकलीले अहिले ४५ दिने स्तरबृद्धिको सिलाईकटाई तालिम लिएकी हुन् । यही सिप सिकेर आयआर्जन गरी जिविकोपार्जन गर्ने लक्ष्य रहेको उनले बताइन् । उनले भनिन् सिप सिकेर गाउँमै यही व्यवसाय गरेरै जीविकोपार्जन गर्न योजना रहेको छ । घरको सामान्य खेतीपातीले बाह्रै महिना खाना लगाउन पुग्दैन । श्रीमान जीविकोपार्जनकै लागि इण्डिया (भारत) जाने गर्नु हुन्छ ।
रमीता र जौकली जस्ता ग्रामिण भेगका विपन्न नागरिकहरु जिविकोपार्जन आधार नभएर समस्यामा परेका छन् । यसै सिलाईकटाई सिप सिकेर जिविकोपार्जन गर्ने आधार बनाउने अपेक्षा छन् । उनीहरु जस्तै १८ विपन्न महिला तिला गाउँपालिका – १ रारालिहि बजारमा सिलाईकटाई सिप सिकिरहेका छन् । उनीहरुलाई किर्डाक नेपाल, वल्र्डभिजन र गाउँपालिका समन्वयमा ४५ दिने सिलाईकटाई तालिम सञ्चालन गरिएको हो ।

किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतका अनुसार ग्रामिण भेगका विपन्न महिलालाई सिप सिकाएर जिविकोपार्जन गर्ने आधार बन्ने अपेक्षा गरिएको छ । उनले भने सिप सिकाउने र उनीहरुको व्यवसायका लागि चन्दननाथ सहकारीमार्फत सहुलिय ऋणको पनि व्यवस्थापन गरेका छौँ । किर्डाक नेपाल जुम्लाले सिप सिकेर स्वरोजगार बन्न व्यवसाय गर्ने सहकारीमार्फत सहुलियत ऋण उपलव्ध गर्नका लागि चन्दननाथ सहकारी जुम्लालाई १२ लाख रकम अनुदान उपलव्ध गरिएको छ ।
सिलाईकटाईसँग, कुकिङ, अटो वर्कसप, मोबाइल मर्मत, पम्बिङ, हाउस वाइरिङ, फर्निचरका न्यूनतम एक महिनादेखि ४५ दिनसम्मका सीप सिकाउने तालिम सञ्चालन गरिएको छ । करिब ८० जना युवाले सीप सिकिरहेका छन् । सीप सिकेका युवालाई व्यवसायसँग जोड्न बैंक, वित्तीय तथा सहकारी क्षेत्रसँग पनि सहकार्य भइरहेको संयोजक रावतले बताए ।
सीप सिकेर स्थानीयस्तरमै स्वरोजगार बन्ने ठूलो आशा पलाएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचर्यले बताए । उनले भने, सबै जग्गाजमिन बाँझो राखेर रोजगारका लागि बिदेसिने प्रचलनजस्तो बनेको वेला सीप सिकेर स्देशमै स्वरोजगार बन्न खोज्नु सुखद पक्ष हो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार प्रशासनमा राहदानी बनाउन युवाको भिड लाग्ने गरेको छ । उनी भन्छन् सिप र दक्षता नहुने मात्रै बेरोजगार हुने हुन् । सिप र दक्षता भएको नागरिक स्वदेशमै स्वरोजगार बन्न सक्छन् । सिप र दक्षता नभएर विदेश गएका धेरै नागरिकले दुख्ख पाएका धेरै घटना छन् । सिप सिकेर स्वदेशमै रोजगार बन्ने अवसर खोज्न सक्नु पर्दछ ।



