जुम्ला–नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहितलाई प्रतिवादी बनाइएको छ । २४ जना नेपाली र आठ विदेशी प्रतिवादी छन् ।
यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिराम पाण्डे, तत्कालीन सहसचिव शिशिरकुमार ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, व्यवसायी निमानुरू शेर्पालगायत प्रतिवादी छन् ।
नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको ठहर संसद्को सार्वजनिक लेखा समितिले गरेको थियो ।
१७ पुस ०७५ मा समितिले छानबिन प्रतिवेदन नै सार्वजनिक गरेको थियो । खरिद प्रक्रियामा संलग्न तीन पूर्वमन्त्री, तीन सचिव, निगमका तत्कालीन महाप्रबन्धकलगायतमाथि थप छानबिन गरी कारबाही गर्न समितिले अख्तियारलाई निर्देशन दिएको थियो ।
दोषीको नामै किटान गरेर दिएको वाइडबडी खरिद प्रकरणको पनि अख्तियारले लामो समय छानबिन नगरी फाइल अड्काएर राखेको थियो । अख्तियारले विशेष अदालतमा बुझाएको आरोपपत्र नै २३३ पेज लामो छ ।
नयाँ पत्रिकाबाट



