जुम्ला- जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ स्थित डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । सोही वडाको व्यूरेनी स्थित विद्युत् नहर पहिरोले भत्काएपछि स्थानीय बासी अन्धकारमा बस्न बाध्य भएका हुन् । २५ मिटर नहर पहिरोले भत्काएको छ ।
आयोजना सञ्चालन गर्दै आएको डिल्लीचौर विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार गएको असारमा पहिरो गएपछि नहर चर्किएको थियो । ’त्यतिबेला देखि नै नहर मर्मतका लागि गाउँपालिकामा पहल गर्दै आएका थियौँ,’ उनले भने, ’पहिरो गएको ठाउँमा समयमै मर्मत हुन नसकेपछि अहिले २५ मिटर जति पहिरोले नहर नै भत्कायो । नहर भत्किएपछि २४ चैतदेखि पूर्णरुपमा विद्युत् नै अवरुद्ध भयो ।’
’भत्केको नहर मर्मतका लागि प्राविधिक स्टमेट अनुसार ६ लाख बजेट आवश्यक पर्ने देखिएको छ’ उनले भने, ’पहिरोले भत्काउन थालेको नहर समयमै मर्मत गर्नका लागि गाउँपालिकाले स्थानीय सरकारसँग पहल पनि गरेको हो । तर सहयोग भएन ।’
अहिले पूर्णरुपमा विद्युत् अवरुद्ध हुँदा यस गाउँपालिकाका ४, ५ र ६ वडाका करिव ८ सय घरधुरी प्रभावित भएको अध्यक्ष बुढाले बताए । उनले भने ’यहाँ सञ्चालनमा रहेका स्थानीय तह गाउँपालिका, वडापालिकासहित अन्य सरकारी निकाय, बैंक वित्तिय संस्थासमेत विद्युत् नहुँदा समस्यामा परेका छन् । विद्युत् नहुँदा स्थानीय बासी प्रभावित भएका छन् ।’
५८ किलोवाट विद्युत् उत्पादन भएको डिल्लोचौर विद्युत् आयोजनाको ३८ किलोवाट विद्युत् मात्रै खपत भएको अध्यक्ष बुढाको भनाई छ । उनले भने, ’खपत हुन बाँकी विद्युत् नेशनल ग्रिड नेपाल विद्युत् प्राविधकरणलाई विक्री गर्ने योजना बनाएका छौँ ।’
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मतका लागि पालिकाबाट तीन लाख बजेट विनियोजन भएको छ । उनले भने, ’तत्काल नहर मर्मतको काम गरेर अवरुद्ध विद्युत् आपूर्ति गर्ने छौँ ।’



