जुम्ला – जुम्लामा बृहत कृषि पर्यटन साँस्कृतिक महोत्सव हुने भएको छ । आगामी वैशाख १२ देखि २३ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजना र एकेईभेन्ट वहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा कृषि पर्यटन महोत्सव हुने भएको हो ।
कृषि पर्यटन प्रवद्र्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गर्न थालिएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताए । उनले भने, महोत्सव चन्दननाथ नगरपालिका – ५ राजासिममा सञ्चालन हुने भएको छ । व्यापारीका सटर बन्द हुने अवस्थामा पुगेको बेला महोत्सवले व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार जुम्ला आउने छन् । प्रत्येक दिन दुईजना राष्ट्रिय कलाकारको महोत्सवमा सहभागिता रहने अध्यक्ष बुढथापाको भनाई छ । स्थानीय कलाकारलाई पनि विशेष प्राथमिकता दिईने छ ।
प्रतिष्ठानका सचिव विश्वराज खत्रीले पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षण गर्नको लागि महोत्सवको आयोजना गर्न थालिएको बताए । महोत्सवमा नृत्य, गायन, क्यारी क्याचर र देउडा लगायतका प्रस्तुति रहने छन् । महोत्सव हाताभित्र विभिन्न कृषिसँग सम्वन्धित स्टल पनि रहने छन् उनले भने ।
जुम्लाबाट राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकार छत्र शाही, सुरज पण्डित, कालिकोटका ईस्व्यु संजालसहित कलाकार महोत्वसमा सहभागिता रहने सचिव खत्रीले बताए ।



