जुम्ला – हुम्लामा दैनिक उपभोग्य सामग्रीको छोइ नसक्नु मूल्य रहेको छ । उद्योग वाणिज्य सङ्घले सदरमुकाम सिमकोटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई सामानको मूल्य निर्धारण गरेर परिपत्र गर्दा पनि सदरमुकाम सिमकोटका व्यवसायीले त्यसको दोब्बर मूल्य असुल्ने गरेका छन् ।
उद्योग वाणिज्य संघले वैशाख ४ गते ३९ प्रकारका दैनिक उपभोग हुने सामान तेल, चिनी, मसला, चाउचाउ, पेयपदार्थ, खसीको मासु, कुखुराको मासु, अण्डाको मूल्य निर्धारण गरेको थियो । उक्त संस्थाले मूल्य निर्धारण गर्दा पनि व्यवसायीले नमानेर दोब्बर मूल्य असुल्ने गरेका छन् ।
धारा तेल प्रति प्याकेट तीन सय रुपियाँ पर्ने गरेको छ । यस्तै हर्लिक्स (बटल) प्रतिकेजी ५ सय ५० रुपियाँ हुनु पर्नेमा ६ सय रुपियाँ, आटा प्रतिकेजी १ सय २० हुनु पर्नेमा १ सय ५० रुपियाँ र फ्रुटी ४० रुपियाँ हुनु पर्नेमा ६० रुपियाँ रहेको छ । मैदा एक केजीको १ सय ३० रुपियाँ हुनु पर्नेमा १ सय ५० रुपियाँ तिर्नु परेको स्थानीय उपभोक्ता ओवराज शाहीले गुनासो गरे । उउनले उद्योग वाणिज्य संघले गरेको निर्णयलाई अवज्ञा गर्ने आदित्य जनरल स्टोर, दर्मेली स्टोर र तिर्थे स्टोरलाई कारबाही हुनु पर्ने माग गर्दै उद्योग वाणिज्य संघमा वैशाख १६ गते जिल्ला प्रहरी कर्यालयमा मौखिक उजुरी दिएका छन् ।
व्यवसायीले मनोमानीरुपमा उपभोक्ताबाट पैसा लिने गरेको उपभोक्ता प्रवजन शाहीले बताए । उनले भने उद्योग वाणिज्य संघले व्यवसायीको पसल अगाडि मूल्य निर्धारण टाँसेको भएपनि त्यसको कुनै वास्ता नगरेर मनोमानी तरिकाले मूल्य लिने गरेपछि आफू उपभोक्ताहरु मर्कामा पर्दै आएका छन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार एक हप्ता अगाडि मात्रै मूल्य निर्धारण गरेको हो । यसलाई कार्यान्वयनमा ल्याउन जिल्ला प्रशासन कार्यालय र सिमकोट गाउँपालिकाले अनुगमन गर्नु पर्ने प्रतिक्रिया दिए । मूल्य निर्धारण गरेको मूल्यमा उपभोक्ताले पाउने वातावरण मिलाउनु पर्यो भनेर परिपत्र दिँदा पनि कुनै वास्ता गरिएन भने यसको भागीदार व्यवसायी हुनु पर्ने उनको भनाइ छ ।
बजारमा निर्धारण गरेको मूल्यमा सामान नपाउने सेवाग्राहीबाट गुनासो आएपनि कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई अधिकार भएको बताए । तर पनि अहिलेसम्म कुनै कारबाही नभएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको भएपनि सामान पैदल मार्गबाट आउने हुँदा ढुवानी सस्तो पर्दा मूल्य निर्धारणको सुरुवात संघले गरेपनि सम्बन्धित निकायबाट पालना नदेखिएपछि सेवाग्राहीले चर्काे मूल्यको मार खेप्नु पर्ने बाध्यता छ ।
यो विषयमा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायालाई बुझ्दा उनले उद्योग वाणिज्य संघले गरेको निर्णय अवज्ञा गर्ने जो कोहीलाई तत्काल चेतावनी दिएर मूल्य निर्धारण अनुसार कार्यान्वयन गर्न लगाउने बताइन् ।



