जुम्ला । तातोपानी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । वार्षिक कार्यक्रमनुसार खोप उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा पुगेसंगै पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आर्चायले तातोपानी पूर्णखोप सुनिश्चिताको घोषणा गरे । भविष्यको अब्बल र दक्ष जनशक्ति निर्माणका लागि हरेक नागरिक स्वास्थ्य हुनु पर्ने जिसस प्रमुख आर्चायले बताए । उनले बालबालिकामा लगानी सुन्दर भविष्यको निर्माणको आधार भएकोले खोपदेखि,अन्य स्वास्थ्यका सूचकमा समेत पहुँच बृद्धि गर्नुपर्ने सुझाव दिए ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाले खोप उमेर समुहका कुनै पनि बालबालिका खोपबाट छुट्ने र दोहोरीले अबस्था आउन नदिन अभियाननै चलाइएको बताए । वार्षिक कार्यक्रमनुसार पालिकाका शत प्रतिशत बालबालिका खोपको पहुँचमा पुगेको उनको भनाई छ । बालबालिकाको गुणस्तरीय स्वास्थ्य शिक्षामा पालिकाको विशेष प्रथामिकता रहेको समेत अध्यक्ष चौलागाँईको भनाई छ ।
तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले तातोपानीका ८ वटै वडाका खोप उमेर समुहका ९२५ जना बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको बताए ।
उनका अनुसार ८ वटै वडाका जन्मेदेखी १५ महिना उमेरका २९४ जना र १६ महिनादेखि ५९ महिना सम्मका ६३१ ज्ना बालबालिका पूर्णखोपको पहूँचमा पुगेका छन् । नेपाल सरकारकोे वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष पुर्णखोप पालिका घोषणा हुदैँ आएको छ ।
यसअघि जुम्लाको तिला,हिमा,पातारासी,चन्दननाथ नगरपालिका समेत पूर्णखोप सूनिश्चता पालिका घोषणा भईसकेको छ ।



