रारा पर्यटकिय मार्ग विस्तार हुदैँ

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा ताल जाने पर्यटकिय मार्ग विस्तारको काम थालिएको छ । कर्णाली प्रदेशको मुगुमा अबस्थित रारा तालमा पर्यटकको सहज आगमनका लागि रारा पर्यटकिय मार्ग विस्तार गर्न थालिएको हो ।

छायानाँथ रारा नगरपालिका तलीतुम देखी वडा नं ३ लामाचौर सम्मको सडक बिस्तार गर्ने काम थालिएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । उक्त सडक खण्ड विस्तार भएको खण्डमा मुगुको सदरमुकाम गमगडीबाट २ घण्टामै हिडेर रारा तालमा पुग्न सकिने छ । हाल गमगडी बजार घुमारो बाटो भएर रारा जाँदा समय धेरै लाग्ने गरेको छ ।

रारामा आउने पर्यटकको समस्यालाई मध्यनजर गर्दै सडक डिभिजन जुम्लाको आर्थिक तथा प्राविधिक सहयोग र छायानाँथ रारा नगरपालिकाको समयमा रारा पर्यटकिय मार्ग विस्तारको काम सुरु भएको हो ।

मुगु सदरमुकाम गमगडी भएर रारा ताल जाने पर्यटकको सहजताका लागि उक्त सडक विस्तार गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीले बताए । उनले भने,‘गमगढी बाट रारा जान पैदल दुरीमा २ घण्टा लाग्ने र गाडीमा घुमाउरो बाटो जाँदा बढी समय लाग्ने गरेको छ । गमगढी लामा चौरको दुरी अत्यन्तै छोटो र छिटो रारा पुगिने भएकोले विस्तारको काम अघि बढाइएको हो ।’

रारा पर्यटकीय मार्ग विस्तारका लागि कुल ५५ लाख चार हजार ७७५ रुपैयामा विनम्र निर्माण सेवा सुर्खेतले ठेक्का लिएको छ । ५५ लाख लगानीमा निर्माण हुने उक्त पर्यटकिय मार्ग आगामी असरा मसान्त सम्म बनीसक्ने सम्झौता भएको छ । गएको असोजमा निर्माण व्यवसायीसंग सडक डिभिजन जुम्लाले सम्झौता गरेको थियो ।

तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय मार्गमा १.५ किलोमिटर दूरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने छ । गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ ।

रारामा पर्यटकको आर्कषण बढेपनि होटल बास र सडकको कारण देखाउदैँ सुधार गर्नका लागि सुझाब दिने गरेका छन् । भने सडक भरपर्दो नभएका कारण एक पटक आएका पर्यटक फेरी आउने स्थिती छैन् ।

गमगडी हुदैँ रारा पुग्ने पर्यटकको राहतका लागि विस्तार गर्न थालिएको उक्त पर्यटकिय मार्गले रारा घुम्न आउने पर्यटकलाई सहज बनाउने अपेक्षा गरिएको छ । छायानाथ रारा नगरपालिका मेयर विष्णु कुमार बाम रारामा पर्यटकको आर्कषण बढेपनि पूर्वाधार अभावकै कारण पर्यटक टिकाउन नसकिएको बताउँछन् । उनी भन्छन्,‘स्थानीयतहको बजेटले ठुलो पूर्वाधार निर्माण गर्न सम्भव छैन् । संघ प्रदेशले कार्यान्वयनमुखी बजेट पठाउँदैन् । विनियोजित योजना निर्माणमै ढिलासुस्ती छ ।’

कर्णाली प्रदेश सरकारले राराको सम्भावनालाई मध्यनजर गरी पर्यट पूर्वाधार विकासमा प्रयाप्त लगानी गर्न सकेको खण्डमा कर्णालीको समृद्धीमा राराले उल्लेखीय योगदान दिन मेयर बामको भनाई छ ।

कर्णालीमा रारा ताल,गिडिदह,सेफोक्सण्डो,मानसरोवर,पचाल झरना,सिंजा उपत्यका लगायतका दर्जनौ पर्यटकीय गन्तव्य भएपनि पूर्वाधारको अभावले अपेक्षित पर्यटक आउन सकेका छैनन् । कर्णालीको पर्यटन सम्भावनाहरुमा संघ रर प्रदेश सरकारले लगानी गर्न कन्जुसाई गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस