सिंजासहित जुम्लाका ७ पालिका पूर्णखोप सुनिश्चितता घोषणा

जुम्ला – जुम्लाका ८ स्थानीय तहमध्ये ७ पालिका पूर्णखोप सुनिश्चिता घोषणा भएका छन् । चन्दननाथ नगरपालिका, सिंजा, तातोपानी, कनकासुन्दरी, पातारासी, हिमा र तिला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा भएका हुन् । गुठीचौर गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा हुन बाँकी रहेको छ ।
सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाका अनुसार खोप उमेर समूह जन्मेदेखि १५ महिनाका २४१ बालबालिका पूर्णखोपको पहुँचमा पुगेका छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि खोप अनिवार्य लगाउनु पर्ने सिंजा गाउँपालिकाकि प्रमुख प्रशासकिय अधिकृत पवित्रा शाहीले बताइन् । उनले भनिन्, ‘पूर्ण खोप लगाएकै कारण बाल बच्चालाई कुनै पनि रोगले नछुने भएकोले बच्चालाई खोपबाट छुटाउन हुँदैन ।’
नगरपालिका भित्रका जन्मेदेखि २३ महिनाका ९ सय ५७ जना बालबालिकाले पूर्णखोप लगाएर सुनिश्चित भएकाले पूर्णखोेप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पृथ्थीनाथ योगीले बताए । उनले भने ६७७ बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि अन्य ठाउँबाट नगरमा अस्थायी बसाईसराई गरी आएका बालबालिका भएका हुनाले खोप लगाउने संख्या बढेको हो ।
यस्तै तातोपानी गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप उमेर समुहका सवै बालबालिकालाई पूर्णखोप सुनिश्चितता गरेपछि पालिका घोषणा गरिएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले तातोपानीका ८ वटै वडाका खोप उमेर समुहका ९२५ जना बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए । उनका अनुसार ८ वटै वडाका जन्मेदेखि १५ महिना उमेरका २९४ जना र १६ महिनादेखि ५९ महिनाका ६३१ जना बालबालिका पूर्णखोपको पहूँचमा पुगेका छन् ।
कनकासुन्दरी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाका २५८ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । १६ महिनादेखि ५६३ जना बालबालिकाले पूर्ण खोप पाएपछि पालिका खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक विरेन्द्र उपाध्यायले बताए ।

पातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । जन्मेदेखि २३ महिनाका ३३२ जना बालबालिका रहेका छन् । जसमध्ये पूर्ण खोप १९० जना बालबालिकाले पाएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । ‘२३ जना बालबालिकालाई गाउँ—गाउँमा खोजेर खोप दिएका हौं,’ उनले भने ।
हिमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि हिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । पालिकाका खोप उमेर समूह जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् ।
तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । हरेक आर्थिक वर्ष खोप उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाए÷नलगाएको अनिवार्य सुनिश्चितता गर्नुपर्ने कार्यक्रम रहेको खोप फोकल प्रसन उत्तम देवकोटाले बताए । उनले भने, जन्मेदेखि १५ महिना उमेर समुहका ३९० जना र १६ देखि ५ वर्षका ९२७ जना बालबालिकाले पूर्ण खोप लगाएपछि पालिका खोप सुनिश्चितता घोषणा गरिएको हो । खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गरिनु हुँदैन् । छुटेका बालबालिकालाई पनि खोजेर खोप भन्ने कार्यक्रम उद्देश्य छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार नेपाल सरकारको बार्षिक कार्यक्रम हो । हरेक वर्ष खोप उमेर समुहका बालबालिकाले खोप पाए नपाएको एकिन गर्ने र खोप नपाएका बालकालिकालाई खोजेर खोप्नु पर्ने कार्यक्रम नीति हो । पालिका भर कुनै पनि खोप उमेर समुहका बालबालिकालाई नछुटाई पूर्ण खोप पाएपछि खोप सुनिश्चितता घोषणा गरिएको हो । अब दुई पालिका गुठीचौर र सिंजा गाउँपालिका बाँकी रहेका छन् । सवै पालिका पूर्णखोप सुनिश्चितता भईसकेपछि जिल्ला नै पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पातारासीलाई खोप सुनिश्चत तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको बताए । ‘पूर्ण खोप पाएका बालबालिकामा प्रतिरोधात्मक क्षमता वृद्धि भएको हुन्छ । जस कारण रोग लाग्दैन्,’ उनले भने ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस