जुम्ला । तिला गाउँपालिका वडा नं. ८ मा रहेको देउराली माविका प्रअ र विव्यस अध्यक्षले तिला गाउँपालिकाको गाउँ शिक्षा समितिले गरेको निर्णय कार्यान्वयनमा अटेरी गरेको पाइएको छ । विव्यसको निर्णयले बर्खास्त गरिएको सोही विद्यालयका सहायक कर्मचारी लालभक्त रावतलाई हाजिर गराउन निर्णय सहितको परिपत्र गरेपनि प्रधानाध्यापक रामभजन यादव र विव्यस अध्यक्ष नरजित बस्नेतले अटेरी गरेको पाइएको हो । विद्यालयमा हाजिर गर्न नदिएर हाजिरी रजिष्टरनै विव्यस अध्यक्ष र प्रअले खोसेका छन् ।
विद्यालय सहायक कर्मचारी रावतलाई गत असोज २५ गते आफ्नो काम कर्तव्य र पदीय जिम्मेवारी पुरा नगरेको भन्दै विव्यसको निर्णय गरी कामबाट बर्खास्त गरीएको थियो । तर विद्यालय व्यवस्थापन समितिको असोज २५ गतेको निर्णयलाई बदर गर्दै तिला गाउँपालिकाको शिक्षा समितिले विद्यालय सहायक कर्मचारी लालभक्त रावतलाई पद बहाली गर्ने निर्णय गरेको थियो ।
२०८० साल बैशाख २४ गते बसेको शिक्षा समितिको बैठकको निर्णयनुसार स्थानीय शिक्षा विकास तथा व्यवस्थापन गर्न बनेको ऐन २०७४ को परिच्छेद ४ को दफा २३ को (१) बमोजिम बर्खास्त गर्ने निर्णय नियम विपरित भएको र सो कार्यको कुनै आधार प्रकृया र ठोस प्रमाण नपुगेकोले जिल्ला प्रशासनकोको बैशाख १० गतेको पत्रानुसार नीज लालभक्त रावतलाई पद बहाली गरिएको निर्णय बैशाख २८ गतेनै विद्यालयलाई पठाइएको थियो ।

त्यस्तै विद्यालय सहायक कर्मचारी लालभक्तलाई पदबाट अवकास गर्ने अधिकार विव्यसलाई नभएको भन्दै गत चैत १३ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा गाउँपालिकाबाट पत्र पुगेको प्रशासनले अवकास गर्नुपर्ने ठोस आधार प्रमाण पुगे नपुगेको जानकारी गराउन बैशाख १० गते पालिकालाई पत्र समेत काटेको थियो । प्रतिउत्तरमा गाउँपालिकाले लालभक्त रावतलाई वर्खास्त गर्नुपर्ने कुनै आधार प्रमाण नभएकोले पदबहाली गरिएको पत्र प्रशासनलाई पठाई सकेको छ ।
तर विद्यालयमा कामकाज गर्न जाँदा लालभक्त रावतलाई भने प्रधानाध्यापक र विव्यस अध्यक्षले भने हाजिरनै गर्न नदिएको बुझिएको छ । शिक्षा समितिले समेत वर्खास्त गर्ने काम नियमविपरित भएको,आधार प्रमाण नपुगेकोले पद बहाली गर्ने निर्णय गर्दा समेत देउराली माविका प्रअ र विव्यस अध्यक्ष पालिकाको निर्णयलाई अटेरी गर्दै हाजिर गर्न दिएका छैनन् ।

गाउँपालिकाबाट परिपत्र आउनु भन्दा पहिलेनै विद्यालय सहायक कर्मचारीलाई विव्यससको निर्णयनुसार हाजिर गर्न नदिएको देउराली माविका प्रधानाध्यापक रामभजन यादव बताउँछन् । उसो त प्रअ यादव प्रायः विभिन्न विवादमा तानिरहने मान्छे हुन् । यसमा भने आफ्नो कुनै संलग्न नभएको र विव्यसले शिक्षा ऐन २०२८ अनुसार पदीय जिम्मेवारी पुरा गरेको लगायत विभिन्न कारणले गत असोज २५ गतेको निर्णयबाट बर्खास्त गरिएको उनको भनाई छ ।
गाउँपालिकाले छलफलका लागि बोलाएका खण्डमा यो विषयमा सहजीकरण गर्न आफु तयार रहेको प्रअ यादवको भनाई छ । प्रअ यादव विद्यालय सहायक कर्मचारी रावतले गरेका विभिन्न कमीकमजोरीका प्रमाण सहित पालिकामा पठाएको दाबी गर्छन् । यदपी,पालिकाले विद्यालयका सबै निर्णयलाई बदर गर्दै रावतको पद बहाली गरेको छ । तर उक्त निर्णय कार्यान्वयनमा प्रअ र विव्यसको अटेरीपन कायमै छ ।
तिला गाउँपालिकाको शिक्षा समितिले गत फागुन ११ गते देउराली माविको नयाँ प्रअ छनोट गरी विद्यालयमा जानकारी पठाउन परिपत्र गरेपनि त्यसको समेत कुनै सुनुवाई नगरेको पाइएको छ ।
यता तिला गाउँपालिका शिक्षक महासंघका अध्यक्ष रण बहादुर रावतले गाउँ शिक्षा समितिले गरेको निर्णय देउराली माविका प्रअ र विव्यसले कार्यान्वयन गर्नुपर्ने बताए ।
शिक्षक महासंघ तिला गाउँपालिका अध्यक्ष रण बहादुर रावतले देउराली माविका विद्यालय सहायक कर्मचारी लाल भक्त रावतलाई विव्यस र प्रअले हाजिरी गराउनुको विकल्प नरहेको बताए । गाउँ शिक्षा समितिका सदस्य समेत रहेका रावतले गाउँ शिक्षा समितिको बैठकले लालभक्तलाई बर्खास्त गर्नुपर्ने कुनै आधार प्रमाण नभएको ठहर गर्दै पदबहाली गर्ने निर्णय गरेको कर्णाली मिसनलाई जानकारी दिए ।
उनले भने,‘उक्त विद्यालयमा नयाँ प्रअ छनोट गर्नु भनेर पालिकाबाट पत्रचार भएको महिनादिन भन्दा बढी समय बिति सकेको छ । त्यो निर्णय पनि कार्यान्वय भएको छैन् । लालभक्तलाई पदवहाली गर्ने निर्णय कार्यान्वयनमा पनि अटेरीपन देखिएको छ । यसको विषयमा गहन छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ । तर लालभक्तलाई विद्यालयमा हाजिरी गराउनुको विकल्प छैन् ।’

तिला गाउँपालिकाको शिक्षा शाखाले गत फागुन ३० गते देउराली मावि जुम्लाको नयाँ प्रअ छनोट गरी पालिकामा जनाकारी गराउन पत्रचार गरेपनि हाल सम्म उक्त निर्णय माथि विव्यस अध्यक्षले कुनै चासो देखाएका छैनन् । तर गाउँपालिकालेनै पदवहाली गर्ने निर्णय गरीसकेको विषयमा हाजिरी हुन नदिएर प्रअ र विव्यस अध्यक्षले विद्यालय बनाउन खोजेका हुन वा भत्काउन यो विषय चर्चा हुन थालेको छ ।



