जम्ला । जुम्लाको हिमा गाउँपालिकाले सञ्चार नीति बनाउन थालेको छ । जुम्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा कार्यविधिनै तयार गरी कार्यान्वयन गर्ने लक्ष्यका साथ संचार नीति बनाउन थालेको हो ।
आगामी असार १० गते सञ्चालन हुने १६ औँ गाउँसभाबाट सञ्चार नीति ल्याउने पालिकाको तयारी छ । स्थानीय संचार माध्यमलाई समानुपातिक विज्ञापन प्रणाली लागु गर्नका लागि संचार नीति ल्याउन लागिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
उनले भने,‘गाउँसभाबाट नीति पारित गरेर ऐन बनाई कार्यविधि तयार गरी कार्यान्वयनमा लिने तयारी छ । यसले विज्ञानपन समानुपातिक रुपमा कामका आधारमा दिईने छ । संचार नीति निर्माणपछि सञ्चारमाध्यमलाई राहत हुनुका साथै सूचनामा एकद्धार प्रणाली हुने अपेक्षा छ ।
नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम सञ्चार नीति बनाउने हिमाको गाउँ कार्यपालिकाले निर्णयनै गरी सकेको छ ।
स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई थप व्यवस्थित र मर्यादित गर्नका लागि आगामी सञ्चार नीति ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सञ्चार नीति तयार गर्नका लागि तीन सदस्य समिति गाउँपालिकाले तोकेको छ ।
समितिको संयोजकमा रतनबहादुर रावत तथा सदस्यमा नरसिंह थापा र वीरेन्द्रबहादुर बम रहेका छन् ।
सञ्चार नीति गाउँसभाबाट पारित भइसकेपछि कार्यविधि बनाई सञ्चारमाध्यमको वर्गीकरण गरी सूचना तथा सन्देश प्रसारण एवं प्रकाशनको काम गरिने भएको छ ।
जुम्लामै पहिलो पालिकाका रुपमा तातोपानी गाउँपालिकाले संचार नीति ल्याएपनि कार्यान्वनमा ल्याउन सकेको छैन् ।



