जुम्ला । चन्दननाथ नगरपालिकाले भर्ना गरेकाे नगर प्रहरी छनाेट प्रक्रिया पारदर्शी र निस्पक्ष नभएकाे भन्दै छानविन समिति बनाउन माग गरिएकाे छ ।
नगरपालिकाकाे छनाेट समितिले शुक्रबार नगर प्रहरी छनाेटकाे अन्तिम नामावली प्रकाशन गरेपछि उक्त छनाेट प्रक्रिया निस्पक्ष नभएकाे भन्दै चन्दननाथ नगरपालिका वडा नं २ का अध्यक्ष हेम बुढ्थापाले ध्यानकर्षण भएकाे जनाएका छन् ।
आईतबार पत्रकार सम्मेलन मार्फत वडाध्यक्ष बुढ्थापाले चन्दननाथ नगरपालिकाले गत मंसिर ९ गते १५ सिट नगर प्रहरीका लागि सूचना आह्वान गरेकाे थियाे ।
विभिन्न चरण पार गरी अर्न्तवार्तामा समेत पुग्दा विभिन्न जाल, जेल, षडयन्त्र गरी सफल भएका उम्मेदवार लाई हटाई एकलौटी रुपमा आफ्नो मान्छे भर्ने ध्येयका साथ अन्तिम नतिजा प्रकासित गरेकाे वडाध्यक्ष बुढ्थापाकाे आराेप छ ।
वडाध्यक्ष हेम बुढथापाद्दारा जारी विज्ञप्तीमा भनिएकाे छ,’चन्दननाथ नगरपालिकामा गठित पदपुर्ती समितिले नगरप्रहरीको विज्ञापनमा गरेको एकलौटी निर्णयले अन्तिम नतिजाकाे निश्पक्ष,पारदर्शितामा प्रश्न खडा भएकाे छ । त्यसैले यसकाे निश्पक्ष छानविन समिती गठनको जोडदार माग गर्दछु ।’
निश्पक्ष छानविन नगरे सम्म चन्दननाथ नगरपालिका वडा नं २ को सम्पूर्ण काम कारबाही तथा नगरपालिकाको अनुगमन समितिको सदस्यबाट हुने अनुगमनका कुनै काममा सहभागी नहुने समेत वडाध्यक्ष बुढाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
अन्य चरणमा भन्दा अन्तरबार्ता निस्पक्ष नभएकाे समेत उनकाे भनाई छ ।
चन्दननाथ नगरपालिका उपमेयर रामदेवी खड्काले विधि प्रक्रिया पूरा गरेरै नगर प्रहरीकाे छनाेट भएकाे बताईन् ।बजारमा आएका हाेहल्ला माथि कुनै सत्यता छैन् । उनले भनिन,’नगरकाे शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी राखिएकाे हाे । यसमा तेराे मेराे गर्न जरुरी छैन् ? विधि प्रक्रियानुसारनै छनाेट भएकाे छ ।’
यता चन्दननाथ नगरपालिकाले नगर प्रहरी छनाेट प्रक्रिया विधि र प्रक्रियानुसार भएकाे जनाएकाे छ ।
चन्दननाथ नगरपालिकाका प्रवक्ता नवराज देवकाेटाले सबै छनाेट प्रक्रिया पारदर्शी रुपमै भएकाे बताए । उनले भने,’शारिरिक तन्दुरुस्ती परिक्षणदेखि लिखित र माैखिक सबै प्रक्रिया पूरा गरेरै अन्तिम नामावली छनाेट भएकाे छ । नगरपालिकाले विधि प्रक्रिया पूरा गरेरै छनाेट गरेकाे छ ।’
प्रवक्ता देवकाेटाका अनुसार अन्तरबार्तामा २३ जना सहभागी भएकाेमा १५ जना सिफारिस भएका हुन् ।



